नेपाली अलैँचीको जात पहिचान : यस्ता छन् पाँच जातका अलैँची
अखबार टुडे
प्रकाशित:
२०७७, ३० मंसिर

इलाम, ३० मंसिर । नेपाली अलैँचीको जात पहिचान गरिएको छ । नेपाली बगानमा खेती गरिने अलैँचीको वर्गीकरण गर्दै आधिकारिकताका लागि कृषि मन्त्रालयमा पठाइएको छ । नेपालमा लामो समयदेखि अलैँची खेती गरिएपनि जात पहिचान भएको थिएन ।
अन्तर्राष्ट्रिय क्षेत्रमा भारतले आफ्नो जातको पहिचान गराएको छ । नेपालमा खेती हुने अलैँची पनि भारतले आफ्नो स्वामित्वमा लिएको छ । नेपालले पनि अन्तर्राष्ट्रिय बजारमा अलैँचीको जात चिनाउन नयाँ जात पहिचान गरेको हो ।
नेपालमा करीब १४ जातका अलैँची खेती भए पनि अहिले पाँच जातका अलैँची मात्र सिफारिस गरिएको छ । अलैँची विकास केन्द्र, फिक्कलका अनुसार जात अनुमोदन उन्मोचन तथा दर्ता उपसमितिको बैठकले अलैँचीको नाम दर्ताका लागि सिफारिस गरेको हो । केन्द्रका अनुसार अहिले पाँच जातको दर्ता गर्ने र अन्य जात चरणबद्ध रूपमा सिफारिस गरिनेछ । अब सरकारलाई सिफारिस गरिएका अलैँचीको अनुमोदन भएर राजपत्रमा अंकित भएपछि औपचारिकरूपमा जातको विभाजन हुनेछ ।
अहिले रामसाई, गोलसाई, डम्बरसाई, जिर्मले र भार्लाङ्गे जातको अलैैँची नेपाली जातका रूपमा दर्ता गर्न सिफारिस गरिएको अलैँची विकास केन्द्रका प्रमुख पदम अधिकारीले बताए । उनल भने, ‘अब कृषि सचिवको अध्यक्षतामा रहेको बीउ बिजन उन्मोचन समितिको बैठक बसेर ती नामहरु अनुमोदन गरेपछि अलैँचीको नेपाली जातले पूर्णता पाउँछ । अहिलेसम्म नेपालमा खेती गरियो तर जात दर्ता गरिएको थिएन, अब भने नेपाली जातको अलैँचीलाई कसैले मेरो भनेर दाबी गर्न पाउँदैन ।’
केन्द्र प्रमुख अधिकारीका अनुसार रामसाई जातको अलैैँची विसं १८५० मा नेपालमा खेती भएको मानिएको छ । प्रतिरोपनी ३१ किलो उत्पादन हुने यो अलैँची अहिले छ हजार हेक्टरमा खेती हुने गरेको छ ।
गोलसाई जातको अलैँचीको नेपालको पूर्वी पहाडमा विसं १८५० देखि खेती थालिएको हो । यो अलैँची समुद्री सतहदेखि एक हजार २०० देखि एक हजार ६०० मिटर उचाइसम्म खेती हुने गरेको छ । प्रतिरोपनी ३५ किलो उत्पादन हुने यो अलैँची ५९ हजार हेक्टरमा खेती हुन्छ । यस्तै अर्को जात डम्बरसाई पनि किसानले धेरै रुचाएको जनाइएको छ ।

प्रतिक्रिया