पाकिस्तानमा विपक्षीहरुको प्रदर्शन : प्रदर्शन नगर्न प्रधानमन्त्री इमरानको आग्रह
अखबार टुडे
प्रकाशित:
२०७७, २६ मंसिर

इस्लामावाद, २६ मंसिर (एजेन्सी) । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विपक्षीहरुले लाहोरमा निकाल्ने भनेको जुलुश हालका लागि रोक्न आग्रह गरेका छन् ।
पाकिस्तानमा कोभिड–१९ को असर अझै धेरै मात्रामा देखिएकोले देशमा ठूलो संख्यामा जुलुश निकाल्दा यसबाट कोभिडको संक्रममण बढ्ने भन्दै जुलुश ननिकाल्न भनेका हुन् । पाकिस्तानमा वर्तमान सरकारविरुद्ध आन्दोलन गर्न विभिन्न ११ वटा विपक्षी दलहरु लागेका छन् । उनीहरुले यही १३ डिसेम्बरमा पाकिस्तानको लाहोरमा विशाल जुलुश निकाल्ने तयारी गरेका छन् ।
यस अघिदेखि नै सरकारले सो नारा जुलुश र सरकारका विरुद्धमा हुने भनिएको विरोध प्रदर्शनको कामलाई रोक्नका लागि पटक पटक आग्रह गर्दै आएको यहाँका सञ्चारमाध्यमले बताएका छन् । तर पनि विपक्षीहरुले नमानेपछि पाकिस्तानी प्रधानमन्त्री खानले बिहीबार यहाँका राजनीतिक दलहरुलाई सार्वजनिक रुपमा यो आग्रह गरेका हुन् ।
पाकिस्तानका अधिकारीहरुले यहाँको सरकारले हाल कोरोना भाइरसको दोस्रो वेभको कडा मात्रामा सामना गर्नु परिरहेको बताएका छन् । पाकिस्तानका प्रधानमन्त्री खानले नै हालैमात्र सरकारले यहाँका अस्पतालका कम्तीमा पनि ६४ प्रतिशत अस्पतालका बेडहरु कोरोना भाइरसका विरामीहरुलाई भनेर छुट्याइएकोमा अहिले ती सबै भरिएका र कोरोना भाइरसको दोस्रो वेभका कारण यहाँ निकै समस्या परेको बताएका छन् । तर, विपक्षी राजनीतिक दलहरुले भने गएका केही महिनादेखि नै सरकारका विरुद्धमा आन्दोलनलाई जारी नै राखेका छन् ।

प्रतिक्रिया