कोरोनाबाट नेकपाका नेता लामाको निधन : अध्यक्ष दाहालद्वारा शोक व्यक्त
अखबार टुडे
प्रकाशित:
२०७७, २५ मंसिर

काठमाडौं, २५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कमानसिंह लामाको ६९ वर्षका उमेरमा बिहीबार निधन भएको छ । कोरोना भाइरसको संक्रमणबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा बिहीबार बिहान नेता लामाको निधन भएको हो । कोरोना भाइरस संक्रमणका कारण १६ दिनदेखि उनी अस्पतालमा उपचारार्थ थिए ।
विसं २००८ फागुन ९ गते पिता चन्द्रसिं र आमा मिश्रीमायाका कोखबाट जन्मनुभएका लामा विसं २०३३ मा निर्मल लामा नेतृत्वको नेकपा (चौम)बाट कम्युनिष्ट पार्टीको सदस्य बनेका थिए । लामा विसं २०३५ मा गठित अखिल नेपाल युवा संघका केन्द्रीय संस्थापक सदस्य भएका थिए । विसं २०४८ को आमनिर्वाचनमा उनी जनमोर्चा नेपालबाट काभ्रेपलाञ्चोकको तत्कालीन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।
विसं २०६३ मा पुनःस्थापित व्यवस्थापिका–संसद्को सदस्य बनेका उनले दक्षिण कोरियाका राजदूतसमेत रहेर आफ्नो भूमिका निर्वाह गरेका थिए ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वराजदूत लामाको निधनप्रति दुःख व्यक्त गर्दै उनको निधनले नेकपाले जुझारु एवं बौद्धिक व्यक्तित्व गुमाएको बताएका छन् ।
बिहीबार जारी शोक सन्देशमा अध्यक्ष दाहालले नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका लामा हक्की र निडर तथा जातीय पहिचान र आत्मनिर्णयको अधिकारको आन्दोलनमा अग्रमोर्चामा रहेको स्मरण गरेका छन् । ‘जुझारु, बौद्धिक व्यक्तित्वका धनी कमरेड लामाको निधनले संविधानको पूर्ण कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न उहाँको अभावको महसुस गरेको छु’ अध्यक्ष दाहालले भनेका छन् ।
सरकारका मन्त्री तथा नेकपाका केन्द्रीय एवं जिल्लाका नेताकार्यकर्ताले वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका नेता लामाप्रति विभिन्न माध्यममार्फत शोक व्यक्त गरेका छन् ।

प्रतिक्रिया