सदर चिडियाखाना आजदेखि खुला गरिँदै (यस्तो छ प्रवेशका लागि मापदण्द)
अखबार टुडे
प्रकाशित:
२०७७, २५ मंसिर

काठमाडौं, २५ मंसिर । कोरोना महामारीका कारण बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखा आजदेखि खुल्ने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना नेपालमा देखिएसँगै गत ७ चैतदेखि खिडियाखाना बन्द गरिएको थियो ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी)को निर्णयपछि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी आज (बिहीबार)देखि चिडियाखाना खुल्न लागेको व्यवस्थापन पक्षले जनाएको छ । चिडियाखानामा प्रवेशका लागि स्वास्थ्यका मापदण्ड तयार गरिएको छ ।
चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेलका अनुसार चिडियाखान प्रवेश टिकट डिजिटलाइजेसन गरिएको छ । चिडियाखानामा प्रवेश गर्दा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउनुपर्ने र प्रवेश क्षेत्रमा सेनिटाइजरको व्यवस्था गरिएको छ ।
साथै, भिडभाड व्यवस्थापन गर्न एकपटकमा बढीमा ७०० देखि ८०० व्यक्तिलाई मात्र प्रवेश दिने र त्यसपछि अवलोकर्ताको संख्या धेरै भएमा जति व्यक्ति अवलोकनपछि बाहिरिन्छन्, त्यति नै संख्यामा मात्र नयाँ प्रवेश गर्न दिने व्यवस्था गरिएको छ ।
यस्तै, चिडियाखानाभित्र बसेर खान र वन्यजन्तुलाई खुवाउन, छुन नपाउने, एक व्यक्ति बढीमा डेढ घण्टामात्र बस्न पाउने, बालबालिकालाई खेलाउन नपाउनेजस्ता मापदण्ड तयार गरिएको छ। यसअघिझैँ हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुनेगरी नै मापदण्ड तयार गरिएको छ । अवलोकनका गर्न विदेशीका लागि ७५०, सार्क राष्ट्रका पाहुनाका लागि ५००, नेपालीलाई १५० र नेपाली विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि ९० शुल्क निर्धारण गरिएको छ । हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ वन्यजन्तु रहेको चिडियाखाना व्यवस्थापनले जनाएको छ ।

प्रतिक्रिया