विवेकशील र साझा पार्टीबीच एकता घोषणा
अखबार टुडे
प्रकाशित:
२०७७, २४ मंसिर

काठमाडौं, २४ मंसिर । विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता घोषणा भएको छ । बुधबार भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा दुई पार्टीबीच एकता घोषणा भएको हो । एकतापछि नाम ‘विवेकशील साझा पार्टी’ रहने भएको छ ।
कोभिड–१९ ले सिर्जना गरेको प्रतिकूल परिस्थितिलाई दृष्टिगत गर्दै पार्टी एकता घोषणा कार्यक्रम जुम र फेसबुक लाइवमार्फत् आयोजना गरिएको थियो । नवगठित विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेसँग छलफलसमेत राखिएको छ ।

एकीकरणका प्रमुख बुँदाहरु :
१) एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ हुनेछ ।
२) एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह ‘तराजु’ हुनेछ ।
३) एकीकृत पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल, ललितपुरमा रहनेछ ।
४) एकीकृत पार्टीमा अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे रहने छन् ।
५) एकीकृत पार्टीको केन्द्रीय समितिमा दुवै पक्षबाट ६५(६५ जना सदस्यहरू रहने गरी कूल १३० जना केन्द्रीय सदस्य हुनेछन्। एकीकृत पार्टीको केन्द्रीय समितिको पहिलो बैठकले दुवै पक्षबाट बराबरीको संख्या (१३(१३ जना) मा सदस्यहरू रहने केन्द्रीय सचिवालय गठन गर्नेछ ।
६) एकता महाधिवेशनसम्म पार्टीको दैनिक कार्य सञ्चालनका लागि एकीकृत पार्टीको केन्द्रीय समितिले अन्तरिम पार्टी सञ्चालन कार्यविधि बनाई सोही अनुरूप पार्टीका काम कार्यवाहीहरू अगाडि बढाइनेछ ।
७) सोही कार्यविधि अनुसार दुई महिनाभित्र दुवै पार्टी मातहतका हाल रहेका सम्पूर्ण संरचनाहरू गठन, पुनर्गठन र समायोजन सम्पन्न गरिनेछ ।
८) पार्टी एकीकरणको सम्झौता भएको मितिले ६ महिना भित्र पार्टीको एकता महाधिवेशन सम्पन्न गरिनेछ ।
९) एकीकृत पार्टीका अन्य सबै काम कारबाही दुवै दलका संवाद समितिले तयार पारेको संयुक्त प्रतिवेदनले दिशानिर्देश गरे अनुरूप हुनेछ ।
१०) एकीकृत पार्टीको पहिलो महाधिवेशनअगाडि कुनै वाधा अड्चन आएमा त्यसको अन्तिम व्याख्या र निरूपण एकीकृत पार्टीको केन्द्रीय समितिले गर्नेछ ।

प्रतिक्रिया