नेपालको हवाइ उडानमा सुधार : चाँडै इयूको कालोसूचिबाट हट्दै
अखबार टुडे
प्रकाशित:
२०७७, २२ मंसिर

काठमाडौं, २२ मंसिर । नेपालको हवाइ उडानमा सुधारसँगै छिट्टै युरोपेली संघ (इयू)को कालोसूचीबाट हट्ने संकेत देखिएको छ । उडान सुरक्षामा आधुनिक सुरक्षा प्रणालीको अवलम्बन, प्रभावकारी नियमन तथा क्षमतावृद्धिलगायत कारणले नेपालको उड्डयन क्षेत्रमा गरिएको सुधारको प्रशंसा गर्दै इयूले नेपाललाई सुरक्षा सूचीबाट हटाउने संकेत गरेको हो ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) स्थापना दिवसका अवसरमा आइतबार विज्ञप्ति जारी गर्दै इयूले नेपालको पछिल्लो समयको सुधारलाई प्रशंसा गर्दै नेपालमाथि उडान प्रतिबन्ध फुकुवा गर्ने संकेत गरेको छ ।
इयूको चासोअनुरुप नेपाल सरकारले हवाई सुरक्षामा देखिएको चुनौती समाधान गर्न देखाएको प्रतिबद्धता, नेपालको उड्डयन क्षेत्रले सुरक्षामा उल्लेख्य प्रगति तथा नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजनसम्बन्धी विधेयक संसद्मा पारित हुने प्रक्रियामा रहेकाले पनि सकारात्मक प्रगति हुने अपेक्षा गरिएको छ ।
‘नयाँ हवाई उड्डयन विधेयक संसद्मा दर्ता गराएको सहित नेपालले गरेका सुधारका विषयमा इयू जानकार छ,’ विज्ञप्तिमा उल्लेख छ । नेपालको यस्तो प्रयासले सुरक्षा सूचीबाट हटाउने प्रक्रिया शुरु गर्न सहज हुने इयूले उल्लेख गरेको छ ।
त्यस्तै, हवाई सुरक्षाको प्रभावकारी कार्यान्वयन भए नभएको जानकारी लिन महानिर्देशकसहितको टोलीले नेपालमा भ्रमण गर्ने र नियोगले तयार गरेको प्रस्तावका आधारमा युनियनको हवाई सुरक्षा समितिले सुरक्षा सूचीबाट हटाउन सकिने प्रक्रिया पूरा हुनेछ ।
नेपालले हवाई सुरक्षाको समग्र क्षेत्रमा अन्तरराष्ट्रियस्तरदर राम्रो रहेका सन्दर्भमा इयूको विज्ञप्तिले नेपाल छिट्टै सुरक्षासूचीबाट हट्ने विश्वास बढेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए । उनले भने, ‘इयूको विज्ञप्ति सकारात्मक छ, ओभरअल सेफ्टीमा हाम्रो उपलब्धि राम्रो छ, नेपालले आफ्नातर्फबाट आवश्यक तयारी गर्नुपर्छ ।’
नेपालको हवाई सेवामा प्रश्न उठाउँदै इयूले ७ वर्षअघि अर्थात् सन् २०१३ डिसेम्बर ५ तारिखदेखि सुरक्षण सूचीमा राखेको थियो । सोही कारण नेपाली हवाई सेवा प्रदायकलाई उडानमा प्रतिबन्ध लगाइएको थियो । यसअघि सन् २०१७ आइकाओले नेपाली जहाजलाई चार वर्षदेखि लगाउँदै आएको गम्भीर सुरक्षा चासो सूचीबाट हटाएको थियो ।
क्यानले यही १२ मंसिरमा प्रकाशन गरेको ‘एभिएशन सेफ्टी रिपोर्ट–२०२०’ ले नेपालमा हवाई दुर्घटना दर घटेको देखाएको थियो । उडान सुरक्षामा आधुनिक सुरक्षा प्रणालीको उपयोग तथा जनशक्तिको क्षमता अभिवृद्धिलगायत कारणले नेपालको हवाई दुर्घटनादर घटेको र यसबाट हुने मृत्युदर पनि घटेको प्रतिवेदनमा उल्लेख छ ।
पछिल्लो १० वर्षका अवधिमा नेपालको हवाई उड्डयन सुरक्षास्तर दरमा प्रगति भएको यसले पुष्टि गर्छ । प्राधिकरणले सार्वजनिक गरेको सन् २०१९ को एभिएशन सेफ्टी रिपोर्टमा नेपालको हवाई क्षेत्रमा जहाजतर्फ एक दुर्घटना र तीनको मृत्यु भएको छ । सन् २०१० मा दुई दुर्घटनामा ३६ को मृत्यु भएको थियो ।
त्यस्तै हेलिकोप्टरतर्फ सन् २०१९ दुई दुर्घटनामा सात जनाको मृत्यु भएको छ । क्यानका अनुसार नेपालको उडान सुरक्षादर आइकाओले निर्धारण गरेको ६० प्रतिशतभन्दा माथि नेपालले करीब ६७ प्रतिशत प्रगति गरेको छ । एशिया प्रशान्त क्षेत्रका मुलुकको हवाई सुरक्षादर ६४ प्रतिशत रहेको जनाइएको छ ।
आइकाओ दिवसका अवसरमा सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित झण्डोत्तोलन कार्यक्रममा नागरिक उड्डयमन्त्री योगेशकुमार भट्टराईले इयूले नेपालको हवाई उड्डयनलाई कालो सूचीबाट हटाउने संकेत दिएको भन्दै खुशी व्यक्त गरेका छन् ।
क्यानका उपमहानिर्देशक राजकुमार क्षेत्रीले इयूको विज्ञप्तिअनुसार नेपालमाथि लगाएको उडान प्रतिबन्ध चाँडै हट्ने विश्वास व्यक्त गरे । उनले भने, ‘इयूको विज्ञप्तिमा नेपाललाई कालोसूचीबाट हटाउने संकेत देखिन्छ, यसले हामीलाई उत्साहित बनाएको छ । नेपालले हवाई क्षेत्रमा गरेका सुधारको कागजात पठाएकै आधारमा इयूले प्रसंशा गरेको छ । अब प्राविधिक प्रक्रिया पूरा गरेर छिट्टै नेपाललाई सुरक्षा सूचीबाट हटाउनेछ ।’

प्रतिक्रिया