नेपाल खबर

कौशलटारमा कार दुर्घटना : एक युवतीको मृत्यु, तीन घाइते

भक्तपुर, २१ मंसिर । मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने अन्य तीन सामान्य घाइते भएका छन् ।
भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा८च ४७५६ नम्बरको कार आइतबार बिहान १२ः४५ मा कौशलटारको बीच सडकको फलामे रेलिङ भाँच्दै सडक छेउमा रहेको सिमेन्टको खम्बामा ठोकिएर पल्टिएको थियो । दुर्घटनामा कारमा सवार काठमाडौँ महानगरपालिका–४ बूम्रबराही पीपलबोट बस्ने ३० वर्षीया रिया श्रेष्ठको मृत्यु भएको छ ।
चार जना सवार उक्त कार अनियन्त्रित भई दुर्घटना भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । उनले घटनाबारे जानकारी पाएलगत्तै घटनास्थल पुगेर घाइते श्रेष्ठलाई उपचारका लागि मध्यपुर अस्पताल पु¥याइएको बताए । घाइते श्रेष्ठको अस्पताल पु¥याउँदा चिकित्सकले मृत्यु भइसकेको जनाएका थिए ।
घटनापछि फरार रहेका कारका चालक मध्यपुरथिमि–१ लोकन्थली बस्ने २६ वर्षीय रञ्जित कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । सोही कारमा सवार मध्यपुरथिमि–५ राधेराधे बस्ने २६ वर्षीय विजय देउजा र सूर्यविनायक नगरपालिका–४ दधीकोट गाम्चा बस्ने २७ वर्षीय सुदीप थापालाई घटनाबारे प्रहरीले सोधपुछ गरिरहेको छ ।
दुर्घटनापछि कारमा सवार ती तीनै जना घाइते युवतीको अवस्था हेरेर मृत्यु भएको भन्दै छाडेर फरार भएका थिए । प्रहरीले खोजी गर्ने क्रममा बिहानै नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको जनाइएको छ ।

Click to comment
To Top