कडा सुरक्षाबीच राजधानीमा राजावादीहरुको प्रदर्शन
अखबार टुडे
प्रकाशित:
२०७७, २० मंसिर

काठमाडौं, २० मंसिर । पछिल्लो केही साता यता राजावादीहरु सल्बलाउन थालेका छन् । राजतन्तको पुर्नस्थापना र हिन्दू राष्ट्रको माग गर्दै देशको मुख्य मुख्य सहरमा प्रदर्शनहरु हुन थालेका छन् । वर्तमान नेकपाको सरकार आन्तरिक विवादमा अल्मलिरहेको बेला राजावादीहरुको आन्दोलनलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
यस्तै, शनिबार पनि उपत्यकामा राजावादीहरुले प्रदर्शन गरेका छन् । राजावादीहरुको प्रदर्शनलाई मध्यनजर गर्दै गर्दै शनिबार राजधानीदेखि नै माइतीघरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । मध्यान्ह १२ बजे सुरु भएको राजावादीहरु प्रदर्शनलाई सुरक्षाकर्मीले नजिकबाट निगरानी गरेको छ । केही दिनअघि मात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजावादीको प्रदर्शनलाई मध्यजर गर्दै काठमाडौंमा प्रदर्शन, भेला तथा जुलुस नगर्न आग्रह गरेको थियो । तर, कडा सुरक्षाबीच पनि शनिबार सयौँ सडकमा उत्रिएका छन् । उनीहरुले विभिन्न नारा अंकित ब्यानर, प्लेकार्ड र राष्ट्रिय झण्डा ‘राजा आउ, देश बचाउ’ नारा लगाएका छन् ।
यस्तै शनिबार नै प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा राजतन्त्रको पुर्नस्थापना माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गरेको छ । राजसंस्था र हिन्दूराष्ट्रको पुनर्थापना, संघीयताको खारेजी, भ्रष्टाचार नियन्त्रण र कोरोना व्यवस्थापनमा सरकारको असक्षमतामा केन्द्रीत रहेर प्रदर्शन गर्न लागेको राप्रपाका संघीय सांसद राजेन्द्र लिङ्देनले बताए । उनले आजको प्रदर्शनमा २० हजारभन्दा बढी सर्वसाधारण राजसंस्थाको पक्षमा सडकमा उत्रने दाबी गरेका छन् ।

प्रतिक्रिया