कोरोना महामारीबीच एचआइभी संक्रमित बढ्दै
अखबार टुडे
प्रकाशित:
२०७७, २० मंसिर

कन्चनपुर, २० मंसिर । कञ्चनपुरमा एचआइभी एड्सका बिरामीको संख्या बढ्दै गएको छ । खासगरी भारतका विभिन्न ठाउँबाट फर्किनेमा यसको संक्रमण बढी मात्रामा देखिने गरेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार जिल्लामा हालसम्म ५४९ जना एचआइभी सङ्क्रमित छन् । ‘केही वर्षयताको बिरामीको रेकर्ड हेर्दा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ’, स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले भने, ‘भारतबाट काम गरेर फर्किने नेपालीमा धेरै एचआइभी एड्सको सङ्क्रमण देखिने गरेको छ ।’
आर्थिक वर्ष २०७३÷७४ मा २१ जनामा एचआइभी सङ्क्रमित पुष्टि भएको थियो, भने ०७४÷७५ मा थप २८ जना सङ्क्रमित थपिएका थिए । त्यसैगरी आव ०७५÷७६ मा ४५ जना सङ्क्रमित थपिए भने ०७६÷७७ मा थप ३३ जनामा एचआइभीका नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालयको रेकर्डमा उल्लेख छ ।
त्यसैगरी चालु आवको हालसम्म १३ जना एचआइभीका नयाँ सङ्क्रमित फेला परेको सुनारले जानकारी दिनुभयो । हाल यहाँ २८३ जना नियमित औषधि सेवन गरिरहेका छन् । चालु आवको चार महिनाको अवधिमा १३ जना नयाँ सङ्क्रमित थपिएकाले यो वर्ष अझ बढ्न सक्ने प्रमुख सुनारको भनाइ छ ।

प्रतिक्रिया