कोरोना अपडेट : देशभर १० हजार ३९४ जना होम आइसोलेसनमा
अखबार टुडे
प्रकाशित:
२०७७, १९ मंसिर

काठमाडौं, १९ मंसिर । देशभरमा सक्रिय संक्रमित घट्दै गएको छ । बिहीबारभन्दा शुक्रबार ३०३ सक्रिय संक्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा एक हजार २७२ जना संक्रमित हुँदा एक हजार ५७५ जना संक्रमणमुक्त भएकाका छन् ।
थपिएका संक्रमितमध्ये पुरुष ७८८ र महिला ४८४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय सङ्क्रमणमुक्त भएका एक हजार ५७५ समेत गरी आजसम्म दुई लाख २१ हजार ८४७ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिले निको हुने दर ९२ दशमलव नौ प्रतिशत रहेको छ । शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या १७ हजार १४ रहेको मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणमध्ये संक्रमण दर १३ दशमलव पाँच प्रतिशत छ । योसँगै जम्मा संक्रमितको संख्या दुई लाख ३८ हजार ८६१ पुगेको छ ।
शुक्रबार काठमाडौँ उपत्यकामा ६०६ संक्रमित थप भएका छन् । जसमध्ये ३५९ पुरुष र २४७ महिला रहेका छन् । उपत्यकामा हाल काठमाडौँमा पाँच हजार ९९६, ललितपुर एक हजार २५५ र भक्तपुरका ५४० सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी आठ हजार ३१ नमूना परीक्षण भएको थियो । हालसम्म १७ लाख ७१ हजार ९५० नमूना परीक्षण भइसकेको छ । प्रति १० लाख जनसंख्यामा ६० हजार ७२१ परीक्षण भएको बताइएको छ । हालसम्म पीसीआर परीक्षणमध्ये संक्रमण दर १३ दशमलव पाँच प्रतिशत छ ।
सक्रिय सङ्क्रमितमध्ये हाल १० हजार ३९४ होम आइसोलेसनमा छन् । प्रदेशअनुसार होम आइसोलेनमा रहनेको सङ्ख्या प्रदेश १ मा एक हजार ७७५, प्रदेश २ मा २४२, वाग्मती प्रदेश पाँच हजार ९७४, गण्डकी प्रदेश ४५९, लुम्बिनी प्रदेश एक हजार ३०२, कणार्ली प्रदेश ८४ र सुदुर पश्चिम प्रदेशमा ५५८ रहेको छ । देशभर आजसम्म ३२८ सङ्क्रमित आईसीयूमा रहेका छन् । प्रदेश १ मा २६, प्रदेश २ मा आठ, वाग्मती प्रदेशमा १२२, गण्डकी प्रदेशमा ८१ र लुम्बिनी प्रदेशमा ७५, कर्णाली प्रदेशमा नौ र सुदुर पश्चिम प्रदेशमा सात सङ्क्रमित आईसीयूमा रहेका छन् । त्यस्तै, प्रदेश १ मा आठ, प्रदेश २ मा एक, वाग्मती प्रदेशमा ३१, गण्डकी प्रदेश नौ र लुम्बिनी प्रदेश तीन र सुदूर पश्चिममा दुई गरी जम्मा ५४ सङ्क्रमित भेन्टिलेटरमा रहेका छन् ।
यस्तै, देशभरका ७७ जिल्लामध्ये ६ जिल्लामा संक्रमित ५०० बढी छन् भने मनाङ र डोल्पामा शून्य रहेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लाहरुमा झापा, मोरङ, ललितपुर, काठमाडौँ, भक्तपुर, र कास्की रहेका छन् । पछिल्लो २४ घण्टामा कोभिडका कारण थप १६ जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ५६७ पुगेको छ ।

प्रतिक्रिया