रुसमा एक लाख बढी नागरिकले लगाए कोभिड-१९ विरुद्धको भ्याक्सिन
अखबार टुडे
प्रकाशित:
२०७७, १८ मंसिर

मस्को, १८ मंसिर (एजेन्सी) । रुसमा एक लाखभन्दा बढी नागरिकले रुसमै विकास गरेको कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । रुसले गएको अगष्ट महिनामै कोभिड–१९ का विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको थियो ।
सो खोप प्रभावकारी रहेको भन्दै रुसले त्यसलाई प्रयोगमा ल्याएको हो । गत अगष्ट ११ मा नै रुसले सो खोप प्रयोगमा ल्याएको बताइएको थियो । यसरी रुस कोभिड १९ विरुद्धमा खोप लगाउने विश्वकै पहिलो देश भएको पनि बताइएको छ । रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले सो कुराको जानकारी दिएका छन् । उनले रुसले यहाँका नागरिकलाई सो खोप लगाएकोे बारेमा भिडियो पनि बनाएको र त्यसको लिंक पनि संयुक्त राष्ट्रसंघलाई दिइएको बताएको छ ।
गएको महिना मात्र सो खोपको प्रभावकारीताको बारेमा अनुसन्धान गरिएको थियो । सो अनुसन्धानबाट उक्त खोपले करिब ९२ प्रतिशतसम्म काम गर्ने पाइएको थियो । रुसका पनि पछिल्लो समयमा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार यहाँ २३ लाखभन्दा बढी नागरिक यसका संक्रमित रहेका पाइएको छ ।

प्रतिक्रिया