बेलायत विश्वकै पहिलो : कोरोना विरुद्धको खोप प्रयोगका लागि अनुमित
अखबार टुडे
प्रकाशित:
२०७७, १७ मंसिर

वासिंगटन, १७ मंसिर (एजेन्सी) । बेलायतमा अर्काे हप्तादेखि कोरोना भाइरस (कोभिड- १९) विरुद्धको खोप वितरण हुने भएको छ । पिफाइजर–बायो एनटेक औषधि इमरजेन्सी प्रयोगका लागि बेलायतको औषधि व्यवस्थासम्बन्धी निकायले अनुमति दिएको हो ।
यसरी बेलायत कोभिडका विरुद्धको खोप प्रयोगमा ल्याउनका लागि अनुमति दिने विश्वकै सबैभन्दा पहिलो देश भएको छ । यो प्रावधानले आगामी हप्ताका लागि खोपको प्रयोग गर्न पाउने बाटो खुलेको छ । सरकारले आगामी हप्ता यो खोपको सेवा दिने भएको बेलायतले जनाएको छ ।
बेलायतको औषधि व्यवस्था विभागले यो खोपको प्रयोग गर्न सक्ने गरी व्यवस्था गरेकोले बेलायत कोरोना विरुद्धको खोपमा अनुमति पाएको पहिलो देश बनेको हो । यो खोप विश्वका विभिन्न देशहरुमा नै लगेर तेस्रो चरणसम्मको परीक्षण गरिएको थियो । सो परीक्षण पास भएपछि यो खोपलाई सार्वजनिक रुपमा प्रयोगका लागि अनुमति दिइएको बताइएको छ ।समाचारमा जनाइएअनुसार बेलायतले अनुमति दिएसँगै अब यो खोप आगामी हप्ताबाट नै बेलायतमा प्रयोग गरिने भएको हो ।आगामी केही दिनमा यो खोप बेलायतमा आउने र सन् २०२१ मा उक्त कम्पनीले बेलायतका लागि आवश्यकताका अनुसारको मात्रा नै उत्पादन गर्ने जनाएको छ ।
उता बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पनि अर्काे हप्ताबाट यो खोपको प्रयोग गर्न पाइने बताएका छन् । उनले बुधबार ट्वीटरमार्फत् सो कुराको जानकारी दिएका हुन् । उनले यसबाट बेलायतलाई खुशी लागेको पनि बताएका छन् ।
उनले बेलायतले यो खोपको निर्माण गर्दा निकै खुशी भएको बताएका छन् । साथै उनले यो महत्वपूर्ण कार्यले गर्दा अब बेलायतका मात्र नभएर संसारका मानिसको ज्यान बच्ने बताए । यसबाट बेलायतलाई नागरिकको ज्यान बाँच्ने मात्र नभएर बेलायतको आर्थिक सुधारका लागि पनि सहयोग पुग्ने बताएका हुन् ।

प्रतिक्रिया