इलाममा कोरोना : घट्दै स्वाब संकलन, बढ्दो संक्रमण,
अखबार टुडे
प्रकाशित:
२०७७, १७ मंसिर

इलाम, १७ मंसिर । कोरोना संक्रमण दैनिक बढिरहेको छ । तैपनि इलाममा अब हप्ताको दुई दिनमात्रै कोरोना परीक्षण गरिने भएको छ । स्वाब संकलन गरेर ल्याब टेष्टका लागि झापाको भद्रपुर र मोरङको विराटनगर पुर्याउनुपर्ने भएकाले हप्तामा दुई दिनमात्रै स्वाब संकलन गर्न सकिने स्वास्थ्य कार्यालयले बताएको छ ।
कार्यालयका अनुसार इलाम नगरपालिका–७ मा रहेको आइसोलेसन भवनमा हप्ताको सोमबार र बिहीबार स्वाब संकलन गरिनेछ । कार्यालय प्रमुख वृजकुमार दासका अनुसार परीक्षण गराउनका लागि लक्षण भएका व्यक्तिले इलाम अस्पतालको सिफारिस लिएर आइतबार र बुधबार कार्यालयमा नाम टिपाउनु पर्नेछ ।
दैनिक २० जनाको हाराहारीमा कोरोना बढिरहँदा कार्यालयले राखेको यो मापदण्ड अपुग जस्तो देखिन्छ । ‘जिल्लामा ल्याब छैन । जिल्लाबाहिर पठाउँदा सीमित संख्यामा मात्र परीक्षण हुन्छ’, विमलकुमार बरालले भने, ‘तर सबैलाई पहुँच पुग्ने गरी परीक्षण गरिनेछ ।’ जिल्लामा तिहार पछाडिको समयमा कोरोना अत्यन्त बढी देखिएको छ । स्थानीयस्तरमा कोरोना देखिएकाले परीक्षण बढाउनु पर्ने देखिन्छ । जिल्लामा तिहारपछिको समयममा मात्रै आठ जनाको निधन भएको छ भने करिब २०० संक्रमित थपिएका छन् ।
अस्पताल र स्थानीय तहले सुरक्षाका मापदण्ड कार्यान्वयन नगराउँदा पनि कोरोना बढेको हो । विशेषगरी बजार क्षेत्रमा हिँडडुल गर्ने यात्रुलाई मास्क प्रयोग गर्न अनिवार्य नगराउनु तथा सवारीसाधनमा दूरी कायम नगरी यात्रु राख्नाले पनि कोरोना उच्च दरमा बढेको हो । जिल्लामा हालसम्म २३३ जनामा कोरोना देखिएको छ । एघार कोरोना संक्रमितको निधन भइसकेको छ । एक सय ६८ जना कोरोनामुक्त भएका छन् ।

प्रतिक्रिया