नौ महिनापछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गरिँदै
अखबार टुडे
प्रकाशित:
२०७७, १५ मंसिर

काठमाडौं, १५ मंसिर । पशुपतिनाथ मन्दिर आगामी १ पुसदेखि भक्तजनका लागि खुला गरिने भएको छ । गत चैतदेखि बन्द रहेको मन्दिर भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर १ पुसदेखि खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
मन्दिर छिर्न चाहने भक्तजनले पुस १ गतेदेखि नियमसम्बन्धी मापदण्डसमेत कोषले तयार पारेको कोषका सदस्यसचिव डा प्रदीप ढकालले जनाएका छन् । उनका अनुसार भक्तजनलाई एउटा ढोकाबाट प्रवेश गराई अर्कोबाट निकाल्ने गरी व्यवस्था मिलाइने छ ।
विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीले ज्योतिर्लिङ्गको अर्थात् महाज्योतिर्लिङ्गका रुपमा आस्था राख्ने मन्दिर नौ महिनादेखि बन्द रहँदा भक्तजनले मन्दिरमा दर्शन गर्न पाएका थिएनन् । सार्वजनिक यातायातलगायत अन्य क्षेत्र खुला हुँदा पनि पशुपतिनाथ मन्दिर खुला नभएको भन्दै विश्व हिन्दू महासंघलगायतका संघसंस्थाले विरोध जनाएाक थिए ।
कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि ११ चैतमा सरकारले बन्दाबन्दीको निर्णय गरेसँगै पशुपतिनाथ मन्दिर भक्तजनका लागि पूर्णरुपमा बन्द गरिएको थियो । यस वर्ष साउनको सोमबारसमेत पशुपतिनाथ मन्दिरमा दर्शन गर्न नपाइएको भन्दै भक्तजनले गुनासो गर्ने गरेका थिए । साउनको सोमबार भक्तजनले पशुपति क्षेत्र परिक्रमा गरेर आस्था प्रकट गरेका थिए । इतिहासमै यति लामो अवधि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको वंशावलीलगायत कतै पनि उल्लेख नगरिएको कोषका पूर्व सदस्यसचिव डा गोविन्द टण्डनले बताए ।

प्रतिक्रिया