चिनियाँ रक्षामन्त्री फेङहे काठमाडौंमा, भेटघाट सकेर आजै फकँदै
अखबार टुडे
प्रकाशित:
२०७७, १४ मंसिर

काठमाडौं, १४ मंसिर । चिनियाँ रक्षामन्त्री वेइ फेङहे एक दिवशीय भ्रमणमा आइतबार (आज) काठमाडौं आइपुगेका छन् । चार्टर्ड जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चिनियाँ रक्षामन्त्री फेङहेको भ्रमण रक्षा मामिलाभन्दा पनि बढी राजनीतिक केन्द्रित हुने देखिएको छ । सबैभन्दा बढी समय रक्षामन्त्री फेङहेले जंगी अड्डामा बिताउने र नेपाली सेनासँगको स्थायी र बलियो सम्बन्ध रहेको सन्देश दिनेछन् ।
प्रधानमन्त्री ओलीसँगको भेटमा रक्षामन्त्री फेङहेले नेपाली सेनालाई गर्ने सहयोगबारे पनि छलफल गर्ने बताइएको छ । प्रधानमन्त्री ओलीले अहिले रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हाल्दै आएका छन् । भेटमा नेपाल–चीनबीचको पछिल्लो सम्बन्ध, बेल्ट एन्ड रोड इनिसियटिभ, रक्षा सहायतालगायत विषयमा छलफल हुने भएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनफिङको विशेष सन्देश लिएर आएएका रक्षामन्त्री फेङहे र प्रधानमन्त्री ओलीबीच समसामयिक राजनीति, सुरक्षा मामिलाबारे समेत छलफल हुने बताइएको छ । रक्षामन्त्रीको प्रतिनिधि मण्डल र नेपाली सेनाबीच द्विपक्षीय हित र सैन्य सहयोगबारे छलफल हुनेछ । चिनियाँ रक्षामन्त्री फेङहे आजै फकँदैछन् ।

प्रतिक्रिया