जाउँ डाँडै काटेर : खगेन्द्र भन्छन्, ‘गीत र भिडियो अग्र्यानिक छ’ (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७७, १३ मंसिर

काठमाडौं, १३ मंसिर । दर्शक तथा श्रोतामाझ एउटा अग्र्यानिक पुर्वेली गीत आएको छ । पुर्वेली लोकगीतका लागि ‘मेलोडी किङ’का रुपमा चिनिएका गायक खगेन्द्र यक्सो र पछिल्लो सयम चर्चामा रहेकी गायिका श्रेयासी चेम्जोङको स्वरमा ‘जाउँ डाँडै काटेर’ बोल गीतको भिडियो युमा आर्टसले सार्वजनिक गरेको हो ।

गायक तथा शब्द संकलक खगेन्द्रले यो पछिल्लो गीतमा पनि आफ्नो पहिचान झल्काएका छन् । उनका यसअघिका गीतहरुमा पूर्वेली परिवेश र रहन–सहनकै सुगन्ध पाइन्छ । यस्तै, यसपटक पनि उनले पूर्वेली भाका टिपेर पूर्वकै परिवेश समेट्दै अग्र्यानिक बनाउने प्रयास गरेका छन् । सार्वजनिक गीत ‘जाउँ डाँडै काटेर’ मा गायक खगेन्द्रकै शब्द र लय रहेको छ ।
पूर्वेली लोकगीत संकलन गर्न गाउँगाउँ पुग्ने गरेका खगेन्द्र यसपटक भिडियो छायाँकन लागि पनि पूर्वकै अग्यानिक लोकेशन रोजेका छन् । प्रस्तुत गीतको भिडियोलाई तेह्रथुम तीनजुरेको काखमा रहेको सोल्मालगायतका रमणीय स्थानमा छायाँकन गरिएको छ । भिडियोका लागि अग्र्यानिक लोकेशन खोज्नेक्रममा तेह्रथुम पुगेको उनको भनाइ छ । भिडियोमा तेह्रथुमको विभिन्न आकर्षक, ऐतिहासिक र पर्यटकिय स्थलहरुलाई समेटेर गीतको सुन्दरतालाई निखार्ने काम गरिएको छ


भिडियो सार्वजनिक गरेपछि खगेन्द्रले भने, ‘दशैँलगतै लोकेशन खोज्दै निस्किँदा तेह्रथुमको पर्यटकियस्थल तीनजुरेको काखमा अवस्थित सुन्दर बस्ती सोल्मातिर पुगेँ । त्यहाँको आकर्षक प्राकृतिक सुन्दरता र संस्कृतिलाई क्यामरामा कैद गर्न रहर लाग्यो । जहाँ लहलह धानको बाला झुलेको अनकन्टार धानबारी, तीन छाङ्गे झरना, भन्ज्याङ, त्यहाँको बिबिध संस्कृतिहरु भिडियोमा उतारिएको छ ।’
धनकुटाको भेडेटार, मूलघाटलगायतका दृश्य समेत अँटाइएको भिडियोलाई गायक खगेन्द्रले नै निर्देशन गरेका हुन् । यस गीतको भिडियोमा मोडल योगेन्द्र राई, सीता तुम्बाहाङ्फे, नुनिता तेयुङ, बिनोद तेयुङ, सरिता प्रधान लगायतले अभिनय गरेका छन् ।

प्रतिक्रिया