नेपाल खबर

घुन्सा पुगेर ओलीले भने, ‘सरकारको लोकप्रियता देखेर विभिन्न पक्ष आत्तिएका छन्’

ताप्लेजुङ, ८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन् । सोमबार ताप्लेजुङमा घुन्सा पुगेर उनले भने, ‘वर्तमान सरकारको लोकप्रियता देखेर आत्तिएका छन् ।’ उनले विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्नेजस्ता नकारात्मक सन्देश फैलाएको भन्दै भने, ‘यस प्रकारका हल्लाको पछि नलाग्न आग्रह गर्दछु ।’
फक्ताङलुङ गाउँपालिका–६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको उद्घाटन गर्दै उनले सरकार मुलुकको समृद्धिका लागि चौतर्फीरुपमा लागिपरेको जनाउँदै देशको समृद्धि नचाहने मान्छे विभिन्न तत्व सरकारविरुद्ध लागेको बताए । उनले भने ‘हामी समृद्धिका लागि अघि बढिरहेका छौँ तर केही पक्ष लोकतान्त्रिक प्रणालीविरुद्ध भ्रम फैलाइरहेका छन्, यो कार्य त्रुटिपूर्ण हो ।’
यस्तै, छिमेकी मुलुकसँगको सम्बन्धलाई सुदृढ गर्ने नीति सरकारले लिएको पनि उनले बताए । छिमेकी भारतद्वारा मिचिएको भूमि फिर्ता लिन गर्न गरेको प्रयास, भारत र चीन दुवैसँगको सम्बन्धलाई अझ सुधार, बन्द नाका खोल्ने जस्ता कार्यले वर्तमान सरकार सफल हुँदै गएको उनको भनाइ थियो ।
यस्तै हालसम्म कञ्चनजंगामा आउने पर्यटकका लागि लिनुपर्ने विशेष अनुमति प्रावधान खारेज गरिने र पर्यटकका लागि सो क्षेत्र खुला गरिने उनले बताए । घुन्सावासीले राखेका विभिन्न मागलाई सरकारले ध्यान दिनेसमेत उनको भनाइ थियो । सो अवसरमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले घुन्सा आधारभूत विद्यालयका १० विद्यार्थीलाई रु पाँच लाखको छात्रवृत्ति दिएकी छन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top