तनहुँमा ७२ जुवाडे पक्राउ, सात लाख बरामद
अखबार टुडे
प्रकाशित:
२०७७, ७ मंसिर

तनहुँ, ७ मंसिर । विभिन्न स्थानबाट प्रहरीले चाडपर्वको समयमा हालसम्म ७२ जना जुवाडेलाई पक्राउ गरेको छ । दशैँ अघिदेखि शनिबारसम्म जुवाखालबाट प्रहरीले सात लाख ४० हजार रुपैयाँ नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
जुवा खालबाट कौडा, तास, तन्नालगायतका सामग्री बरामद गरिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिएका छन् । जिल्लाको डुम्रे, बेलचौतारा, भानु नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुरलगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको उनले बताए ।
पक्राउ परेका जुवाडेलाई मुद्दा दर्ता गरिसकिए पनि फैसला हुन बाँकी रहेको उनले बताए । जुवा खेल्ने र खेलाउनेलाई तीन महिनासम्म कैद र रु ३० हजारसम्म जरिवाना वा दुवै हुनसक्ने मुलुकी अपराध ऐन संहिता, २०७४ को १३२ नंमा उल्लेख गरेको छ । प्रहरीले बरामद गरेका बिगो जफत गर्ने कानूनी व्यवस्था छ । तर, अहिले पनि जुवातास खेल्ने खेलाउनेलाई तारेखमा छाडिएको अवस्था छ ।
प्रहरीले जुवातास खेल्ने सूक्ष्मरूपमा अनुसन्धान गर्दै सुराकीको आधारमा जुवाडेलाई धमाधम पक्राउ गर्ने कार्यलाई अभियानको रूपमा कदम चालेको छ । स–साना जुवाडेलाई पक्राउ गरिए पनि ठूला जुवाडेलाई पक्राउ गर्न नसकिएकाले अबको निसाना प्रहरीको त्यसतर्फ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया