थप एक हजार ९४५ मा संक्रमण, २२ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७७, ५ मंसिर

काठमाडौं, ५ मंसिर । शुक्रबार देशभर थप १ हजार ९४५ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा पछिल्लो समय १० हजार ३४० जनाको स्वास्थ्य परीक्षण गर्दा ७४० महिला र एक हजार २०५ पुरुष गरी उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख १६ हजार ९६५ पुगेको छ ।
पछिल्लो समय थप पाँच हजार ३६४ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या पनि एक लाख ९९ हजार दुई पुगेको छ । निको हुने दर ८८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर २४ हजार ६६५ सक्रिय सङ्क्रमित छन् । यो कूल सङ्क्रमितको ११.४ प्रतिशत हो । देशभर ७५३ जना क्वारेन्टिनमा र १९ हजार १४ होम आइसोलेशनमा छन् । सङ्क्रमितमध्ये ४०३ जनाको सघन उपचार कक्ष र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, शुक्रबार कोरोनाबाट थप २२ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार २९८ पुगेको मन्त्रालयले जनाएको छ ।
शुक्रबार काठमाडौँ उपत्यकामा एक हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ४८४ महिला र ६२३ पुरुष रहेका छन् । मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार अहिलेसम्ममा काठमाडौँमा एक हजार ६८१, ललितपुरमा दुई हजार २२८ र भक्तपुरमा ७८३ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्ममा काठमाडौँ उपत्यकाकै सबैभन्दा बढी काठमाडौँमा ३१६, भक्तपुरमा ८३ र ललितपुरमा ८९ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया