प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान
अखबार टुडे
प्रकाशित:
२०७७, १ मंसिर

किमाथाङ्का, १ मंसिर । संखुवासभा, चैनपुर नगरपालिका –४ मैदानेमा प्रहरीको कारवाहीबाट नेत्रविक्रम चन्द समूह कार्यकर्ता भागेका छन् । बिहान ११ बजे गस्तीमा रहेको प्रहरी टोलीको कारबाहीबाट समूहका कार्यकर्ता भागेको संखुवासभाका प्रहरी प्रमुख नवराज मल्लले जानकारी दिए ।
प्रहरीको नियमित गस्तीमाथि समूहका कार्यकर्ताले पहिले गोली प्रहार गरेपछि प्रहरीले पनि जवाफी फाइरिङ खोल्नुपरेको थियो । दुवैतर्फको गोली हानाहानबाट कुनै पनि मानवीय क्षति नभएको उनले बताए ।
अहिले त्यस क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनास्थल मैदानेमा सशस्त्र र नेपाल प्रहरीसहित ५० भन्दा बढी सुरक्षाकर्मी खटाइएको प्रहरी प्रमुख मल्लले जानकारी दिए । घटनास्थलमा सशस्त्र प्रहरी अरुण गुल्म चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरबाट थप सुरक्षाकर्मी पुगेका छन् । घटनास्थल आसपास सुरक्षाकर्मी परिचालन गरेर समूहका कार्यकर्ताको खोजी तीव्र पारिएको र अहिलेसम्म कोही फेला नपरेको प्रहरी प्रमुख मल्लले बताए ।

प्रतिक्रिया