९७ लाख रुपैयाँ चोरी गर्ने पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७७, ३० कार्तिक

मुग्लिन, ३० कार्तिक । चितवन प्रहरीले रु ९७ लाख चोरी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । कालिका नगरपालिका–६ बस्ने ४० वर्षीय कविराज थापा पक्राउ परेका हुन् ।
उनले यही कात्तिक २७ गते भरतपुर महानगरपालिका–९ काँडाघारीस्थित रहेको एपोलो पेन्ट्स प्रालिको भवनको कोठाभित्र रहेको सेफ लकर फुटाई नगद चोरेका थिए । थापा सोही एपोलो पेन्ट्स कम्पनीमा सेक्युरिटी गार्डका रूपमा काम गर्दै आएका थिए ।
प्रहरीले सेक्युरिटी गार्ड बस्ने क्वार्टरमा निज कविराज बस्ने कोठाभित्र खाटमुनि झोलाभित्र लुकाइछिपाई राखेका अवस्थामा रु ५७ लाख र सोही भवनको उत्तरपट्टि पर्खाल नजिकै झाडीमा लुकाई प्लाष्टिकको बोराभित्र छिपाइराखेको अवस्थामा रु ४० लाख गरी रु ९७ लाख र चोरीमा प्रयोग हुने औजारसमेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले आज जानकारी दिए । थापालाई चोरी कसुरअन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताए ।

प्रतिक्रिया