हुम्लामा फेरि भेटिए नयाँ ४ संक्रमित
अखबार टुडे
प्रकाशित:
२०७७, २८ कार्तिक

सिमकोट, २८ कार्तिक । एक साता याता कोरोना संक्रमणमुक्त भएको हुम्लामा बिहीबार राति चार नयाँ संक्रमित भेटिएका छन् । कोरोना लक्षण भएको आशंकामा स्वाब परीक्षणका लागि सुर्खेत पठाइएको थियो । राति चार जनामा कोरोना पोजेटिभ नतिजा देखाएको हो ।
जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्वाङका ५ जना स्थानीयको स्वाब परीक्षण गर्दा एक जना नेगेटिभ अन्य चार जनामा पोजेटिभ देखाएको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । पछिल्लो समय ६३, ६०, ३१, र १६ वर्ष उमेर समुहका याल्वाङका स्थानीयमा सङ्क्रमण देखिएको फडेराले बताए । उनीहरुमध्ये तीन जना महिला र एक जना पुरुषमा छन् ।
कोरोना मुक्त भएको यस जिल्लामा पछिल्लो एक हप्तामा ठूला कार्यक्रम, उद्घाटन आमसभालगायत मानिसको भीडभाडसहित कार्यक्रम भएको थियो । कोरोना संक्रमणको कुनै प्रवाह नगरी जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले दुई दिन अगाडि मात्रै ठूलो संख्यामा नागरिकको उपस्थित गराएर कार्यक्रम गरेको थियो । हुम्लामा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिए पनि परीक्षणका लागि स्वाब संकलन नगर्दा संक्रमित नभेटिएको अगुवाले बताउने गरेका छन् । जिल्लामा पहिलो पटक असोज ३ गते एक जना युवतीमा कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया