बैतडी बस दुर्घटना : ९ जनाको मृत्यु, १२ गम्भीर घाइते
अखबार टुडे
प्रकाशित:
२०७७, २८ कार्तिक

बैतडी, २८ कार्तिक । बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा गएराति दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । मृत्यु भएका ९ जनाकै सनाखत भएको छ । दुर्घटनमा परी मृत्यु हुनेमा बैतडीका–३, दार्चुला, कञ्चनपुर र कैलालीका दुई÷दुई जना रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए ।
बैतडीको दोगडाकेदार–६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी, दार्चुलाको लेकम गाउँपालिका–४ का तर्कराज गिरी र दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ का जगन्नाथ ओझाको सो दुर्घटनामा मृत्यु भएको हो ।
कञ्चनपुरको भिमदत्त नगरपालिका–८ तिलाचौरका १५ वर्षीया कृतिका कार्की, सोही नगरपालिका–१० का विज्ना धामी र धनगढी उपमहानगरपालिका–४ का नरेन्द्र चौधरी तथा सोही उपमहानगरपालिका १८ का ऋषिराम चौधरीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
मृतकमध्ये कृतिका कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अन्य आठ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते १२ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो । सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् । साहुसमेत रहेका चालक बैतडीको दोगडाकेदार–७ खोचलेकका वीरेन्द्र कार्की घाइते रहेका छन् । दुर्घटनामा परेको बस पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । क्षमताभन्दा बढी यात्रु बोकेको र बसका चालक निदाएकाले दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

प्रतिक्रिया