बाइडेन-मूनबीच १४ मिनेट टेलिफोन वार्ता : उत्तर कोरियाली आणविक मामिला सुल्झाउन सहमति
अखबार टुडे
प्रकाशित:
२०७७, २७ कार्तिक

सियोल, २७ कात्तिक (योनहाप) । दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इन र अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनबीच बिहीबार टेलिफोन वार्ता भएको छ ।
दक्षिण कोरियाको राष्ट्रपति कार्यालय चियोङ वा डाइका अनुसार उक्त वार्ता करिब १४ मिनेट लामो भएको थियो । वार्ताका क्रममा दुबै नेताबीच उत्तर कोरियाली आणविक मामिला सुल्झाउन मिलेर सहकार्य गर्ने बारेमा सहमति भएको छ ।
राष्ट्रपति मूनका प्रवक्ता काङ मिन–सियोकका अनुसार राष्ट्रपति–निर्वाचित बाइडेनले हिन्द–प्रशान्त क्षेत्रको सुरक्षा र समृद्धिका सन्दर्भमा दक्षिण कोरिया अत्यन्त महत्वपूर्ण मुलुक रहेको बताएका थिए । त्यस अवसरमा राष्ट्रपति मूनले बाइडेन समक्ष सियोल–वासिङटनबीचको साझेदारीलाई थप समुन्नत बनाउन ‘निकट संचार सम्पर्क स्थापना’ गर्न आग्रह गरेका थिए । प्रवक्ता काङले दुबै मुलुकबीच लोकतन्त्र र मानव अधिकारको रक्षाका सन्दर्भमा ७० वर्षदेखिको अटुट साझेदारी रहेको स्मरण गरिएको बताए ।
बाइडेनले दक्षिण कोरियासँग अमेरिकाको सुदृढ सुरक्षा निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुका साथै उत्तर कोरियाको आणविक मामिलाको समाधानका लागि साझेदारी गर्ने बताएका थिए ।
दुबै नेताले विश्वव्यापी रुपमा उत्पन्न कोभिड–१९ र जलवायु परिवर्तन समेतका विषयमा आपसी सहयोगलाई थप विस्तार गर्न सहमति जनाएका छन् । प्रवक्ता काङका अनुसार बाइडेनले अमेरिकी राष्ट्रपतिको शपथ गरेलगत्तै जतिसक्दो चाँडो भेटघाट गर्न राष्ट्रपति मूनले प्रस्ताव गरेका थिए ।
गत साता बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित घोषणा भएको अनौपचारिक विवरण सार्वजनिक भएपछि उनीहरुको यो पहिलो प्रत्यक्ष संवाद हो ।

प्रतिक्रिया