माँ बगलामुखीको अध्यक्षमा पुनः अधिवक्ता महर्जन
अखबार टुडे
प्रकाशित:
२०७७, २४ कार्तिक

काठमाडौं, २४ कार्तिक । ललितपुर महानगरपालिका–११, कोन्तीमा रहेको ‘माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.’को ११औँ वार्षिक साधारणसभाले पुनः ४ वर्षका लागि अधिवक्ता लक्ष्मण महर्जनको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति तथा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गरेको छ ।
सो सञ्चालक समितिको उपाध्यक्षमा राजेन्द्र तण्डुकार, सचिवमा रुजेन्द्रमान श्रेष्ठ र कोषाध्यक्षमा अञ्जु तण्डुकार तथा सदस्यहरुमा दिनेश महर्जन, मुकेश खड्गी र रविता तण्डुकार रहेका छन् । त्यस्तै, लेखा सुपरीवेक्षण समितिको संयोजकमा सुवर्ण शाक्य तथा सदस्यमा करुणा महर्जन र दिलीपकुमार श्रेष्ठ चयन भएका छन् ।
ललितपुरको शंखमुलस्थित लिटिल फ्लावर स्कूलमा भर्चुअल विधिबाट सम्पन्न साधारणसभाले संस्थाका अध्यक्ष महर्जनले त्यस संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै शेयर सदस्यहरुको सहयोग र कर्मचारीहरुको योगदानका कारण स्थापना भएको ११ वर्षको अवधिमा माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.ले उल्लेख्य प्रगति गर्न सफल भएको बताए ।
उनले फुटसल तथा जिमखानालगायत सञ्चालन गरिरहेको यो संस्था मार्ट सञ्चालनको दिशामा अगाडि बढेको पनि बताए । सभामा संस्थाका कोषाध्यक्ष रुजेन्द्रमान श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक सुवर्ण शाक्यले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गरेका थिए ।
आर्थिक वर्ष २०७६ र ०७७ मा सो संस्थामा शेयरपूँजी रु. २,५१,०७,९००, निक्षेप संकलन रु. १२,१४,६३,४९५, कर्जा लगानी रु, ११,१७,८५,७७२ र कुल सम्पति रु, १६,०८,७६,०७२ रहेको सभामा जानकारी गराइएको थियो ।

प्रतिक्रिया