ह्वाइट हाउस छिर्ने तयारी गर्दै बाइडेन
अखबार टुडे
प्रकाशित:
२०७७, २२ कार्तिक

वासिंगट, २२ कात्तिक (एजेन्सी) । अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचनबाट पूर्वउपराष्ट्रपति जो बाइडेन निर्वाचित हुने सम्भावना बलियो हुँदै गएको छ । देशका कुल ५० राज्यमध्ये मत गणना सम्पन्न भएका ४४ राज्यमा बाइडेन विजयी भइसकेका छन् । अहिले मतगणना भइरहेका चार राज्यमा पनि उनको फराकिलो अग्रता छ ।
सवैभन्दा धेरै इलोक्टोरल मत रहेको र लामो समयसम्म ट्रम्पले अग्रता लिइरहेको पेन्सिल्भानियामा पनि बाइडनले ट्रम्पलाई पछाडि पारेका छन् । अहिले गणना भइरहेका छ मध्ये यो पेन्सिल्भानियामा मात्रै विजयी भएपनि बाइडेन राष्ट्रपतिमा निर्वाचित हुनेछन् ।
अमेरिकामा राष्ट्रपति निर्वाचित हुन २७० इलोक्टोरल मत चाहिनेमा पेन्सिल्भानियामा मात्रै जितेपनि बाइडेनको कुल २७३ इलेक्टोरल मत हुनेछ । त्यसबाहेक नतिजा आउन बाँकी रहेकामध्ये जर्जिया, नेभाडा र एरिजोनामा पनि बाइडेनको अग्रता कायमै रहेको छ । ट्रम्पको अग्रता भने नर्थ क्यारोलाइना र अलास्कामा मात्रै रहेको छ । त्यसैगरी अब गन्न बाँकी हुलाकमार्फत आएका मतमा पनि बाइडेनको अग्रता कायमै रहन सक्ने आँकलन गरिएको छ ।
अहिलेसम्मको अवस्थालाई हेर्दा ट्रम्प पुनः राष्ट्रपतिमा निर्वाचित हुने संभावना लगभग सकिएको धेरैले दाबी गरेका छन् । तर ट्रम्प पक्षले भने निर्वाचनको अन्त्यसम्ममा आफूहरुले नै जित्ने दाबी गर्न छाडेका छैनन । आफू पराजित हुने देखेपछि प्रतिश्पर्धामा रहेका वर्तमान राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको दाबी गर्दै आएका छन् ।
मतदान र मतगणनामा धाँधली भएको भन्दै उनले तत्काल मतगणना रोक्न माग गर्दै अदालतमा उजुरी पनि दिएका थिए । तर उनको उजुरीहरु अदालतले खारेज गरिदिएको छ । उनले लगाएको आरोप पुष्टि गर्नेगरी प्रमाणहरु नपुगेकोले ट्रम्प पक्षधरद्धारा दर्ता गरिएको उजुरी खारेज गरिदिएको अदालतले जनाएको छ ।
अन्तिम नतिजा आउनै लाग्दा उनले दिएका अभिव्यक्तिका कारण धेरै अमेरिकीहरुले उनको आगामी कदमको बारेमा आशंका र चिन्ता व्यक्त गरेका छन् । राष्ट्रपति ट्रम्पले निर्वाचन अझै नसकिएकाले तत्काल आफू विजयी भएको घोषणा नगर्न बाइडेनलाई चेतावनी दिए । उनले हुलाकबाट आएको मत र धाँधली भएका ठाउँहरुको बारेमा विवाद नटुंगिदासम्म विजयी भएको दाबी गर्न नमिल्ने तर्क गरेका छन् ।
तर बाइडेनले भने आफू विजयी हुने सुनिश्चित भइसकेको दाबी गर्दै कार्यालय सम्हाल्ने तयारीमा रहेको बताएका छन् । बाइडेनले सम्बोधन गर्दै स्पष्ट बहुमतसहित विजय हुनेतर्फ आफूहरू लम्किरहेको बताए । उनले झण्डै तीन सय इलोक्टोरल मतका साथ आफू विजयी हुने पनि अनुमान सुनाए ।
उनले कोरोनाभाइरसको संक्रमण बढीरहेकाले आफ्नो राष्ट्रपति कार्यकालको पहिलो दिनदेखि नै यसैका बारेमा काम गर्ने जानकारी दिए । अमेरिकामा पछिल्ला केहीदिन देखि दैनिक एक लाखभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

प्रतिक्रिया