हार्ने देखिएपछि ट्वीटरमाथि आरोप : ट्रम्पले भने, ‘ट्वीटर नियन्त्रण बाहिर गयो’
अखबार टुडे
प्रकाशित:
२०७७, २१ कार्तिक

वासिंगटन, २१ कात्तिक (एजेन्सी) । अमेरिकी राष्ट्रपति तथा आगामी कार्यकालका लागि पनि राष्ट्रपतिको उम्मेदवार समेत रहेका डोनाल्ड ट्रम्पले ट्वीटर नियन्त्रणभन्दा बाहिर गएको आरोप लगाएका छन् ।
उनका गरेका केही ट्वीटहरु सामाजिक सञ्जाल ट्वीटरले नदेखाएकोले उक्त सामाजिक सञ्जालमाथि उनी हिजोदेखि नै रुष्ट बनेका छन् । उनले उक्त सामाजिक सञ्जाल आफ्ना विरुद्धमा गएको र नियन्त्रणभन्दा बाहिर भएको भन्दै निर्वाचन धाँधली भएको र यदि यस्तो कार्य रोक्ने हो भने आफूले निर्वाचन जित्ने दाबी गरेका हुन् ।
उनले भनेका छन्, ‘यो ट्वीटर नियन्त्रणभन्दा बाहिर गएको छ र यदि मलाई प्राप्त भएका वैध मतहरु मात्र गनियो भने पनि मैले निर्वाचन सजिलै जित्नेछु । अवैध मत गनेर आफ्ना प्रत्यासी जोन बाइडेनलाई जिताउने प्रयत्न भएको आरोप उनले लगाउनुभएको छ । त्यसैले उहाँले ती राज्यहरुका मतगणनाहरु रोक्नुपर्ने बताएका छन् ।
उनले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय ठाउँमा मतगणना रोक्न र पुनः मतगणना गर्न माग गरेका छन् । यसै विवादसँग सम्बन्धित कतिपय उनले गरेका ट्वीटहरु ट्वीटरले नदेखिने बनाएको बताइएको छ । बिहीबार नै राष्ट्रपति ट्रम्पले धारणा सार्वजनिक गर्ने क्रममा हुलाकमार्फत गरिएको मतदान एकतर्फी भएको दावी गरेका थिए । उनले हाल मतगणना जारी रहेका राज्यमा मत गणना गर्न रोक्नुपर्ने बताएका हुन् । यहाँ धेरै अवैध मतदान भएको भन्दै उनले मतदानअघि सञ्चार माध्यमहरूले गरेको जनमत सर्वेक्षणलाई राष्ट्रपति ट्रम्पले चुनावी हस्तक्षेपको संज्ञा दिएका छन् ।

प्रतिक्रिया