भारतीय सेनाध्यक्ष नरवणे काठमाडौंमा
अखबार टुडे
प्रकाशित:
२०७७, १९ कार्तिक

काठमाडौं, १९ कार्तिक । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे काठमाडौं आइपुगेका छन् । उनी भारतीय वायु सेनाको विमानमार्फत बुधबार काठमाडौं आइपुगेका हुन् । उनी नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी ग्रहण गर्न यहाँ आएका हुन् ।
नरवणलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्दैछन् । नेपाल–भारतका प्रधानसेनापतिहरू एकअर्का मुलुकको मानार्थ सेना प्रमुख हुने प्रचलन छ । त्यहीअनुरूप प्रधानसेनापति नियुक्त भएपछि पूर्णचन्द्र थापाले भारतीय सेनाको मानार्थ सेनाध्यक्षको दज्र्यानी ग्रहण गरेका थिए ।
नरवणेले नेपाल बसाइका क्रममा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति थापालाई छुट्टाछुट्टै भेट गर्ने तय भएको जनाइएको छ । नरवणेले प्रधानसेनापति थापासँग द्विपक्षीय छलफल गर्नेछन् ।
नेपाल र भारतबीचको कूटनीतिक सम्बन्ध चिसिएका बेला दुई मुलुकका सेना प्रमुखको भेट र छलफललाई महत्वका साथ हेरिएको छ । साथै, सो अवसरमा नरवणेले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सघाउ पुग्ने गरी स्वास्थ्य सामग्री र औषधि नेपाली सेनालाई प्रदान गर्ने कार्यक्रम रहेको छ । सेनाध्यक्ष नरवणले रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्री ओलीसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया