‘तिम्ले बाटो फेरेउ-२’पछि प्रशंसासँग दर्पणको ‘यस्तो माया…!’ (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७७, १७ कार्तिक

काठमाडौं, १७ कार्तिक । चर्चित गीतकार दर्पण राईको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘माया यस्तो बनोस् हाम्रो’ बोल गीतको यस भिडियो दर्शक तथा श्रोताका लागि प्रतिक्षित थियो । साथै, गीतकार दर्पणका लागि पनि । ‘तिम्ले बाटो फेरेऊ अरे’जस्ता चर्चित गीतका गीतकारको पहिचान छ दर्पण राईसँग । यसैबेला उनले आफ्नो महत्वकाँक्षी गीत ‘माया यस्तो बनोस् हाम्रो’ ल्याएका हुन् ।
मोडल तथा गीतकार दर्पणका आधा दर्जनभन्दा बढी गीत सार्वजनिक भइसकेका छन् । तर, परिचय उही छ, ‘तिम्ले बाटो फेरेऊ अरे’ गीतका गीतकार दर्पण राई । आधुनिक गीतमा एउटा इतिहास बनाउन सफल ‘तिम्ले बाटो फेरेऊ अरे’ १ र २ ल्याएका दर्पण भन्छन्, ‘यो गीतबाट पनि अपेक्षित छु ।’ तर, त्यति सजिलो छैन, बरु दर्पणका लागि यो एउटा चुनौती पनि हो ।
गीत मीठास छ र कर्णप्रिय पनि । भिडियो फिल्मीशैलीमा बनेको छ । भिडियो हेर्दा लाग्छ, ‘कुनै फिल्मभित्रको गीत हो यो ।’ हो, यस सन्दर्भमा पनि यो भिडियो गीतकार दर्पणका लागि चुनौती बनेको हो, किनकि यसै भिडियोमार्फत उनी मोडलका रुपमा खुलेका छन् जबकि यसअघि मोडलिङ गरेपनि यसरी उनी खुलेका थिएनन् । मानौँ, ‘माया यस्तो बनोस् हाम्रो’ दर्पणका लागि गीतिकारिताको एउटा खुड्किलो मात्र नभएर फिल्मीयात्राको ‘भ¥याङ’ पनि हो ।
यस भिडियोलाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन् । त्यसैले धेरै बताइरहनु आवश्यक छैन । उनले यस गीतको भिडियोलाई एउटा छोटो फिल्मको रुपमा प्रस्तुत गरेका छन् । भिडियोमा दर्पणसँगै देखिएकी मोडल प्रशंसा रायमाझीको प्रशंसा गरिरहन पर्दैन । त्यो दर्शकले गर्नेछन् । नेपाली फिल्मी क्षेत्रमा उज्वल सम्भावना बोकेकी प्रशंसा र गीतकार दर्पणलाई निर्देशक चाम्सले भिडियोमा जबरर्जस्त रोमान्स गराएका पक्कै होइनन् । यो भिडियो दर्पण र प्रशंसाका लागि ‘स्क्रिन टेस्ट’ पनि हो । निर्देशन चाम्सको प्रस्तुती हेर्दा यही झल्किन्छ । मानौँ, यी जोडीले फेरि ‘अनस्क्रिन रोमान्स’ गर्दैछन् ।
गायन पक्ष प्रशंसनीय छ । मोडल तथा गायिका सम्झना राई र संगीतकारसमेत रहेका गायक विक्रम राईले गाएको ‘माया यस्तो बनोस् हाम्रो’ गीतलाई दर्पणले नै लेखेका हुन् । त्यसैले लाग्छ, ‘यो गीत तयार गर्दाखेरी नै भिडियो कन्सेप्ट फिल्मीशैलीमा तयार गरिएको थियो ।’ तर, भिडियो एउटै घरमा सक्नुचाहिँ निर्देशक चाम्सको खुबी मान्नुपर्छ ।
एमएमएस इन्टरटेनमेन्टको अफिसियल यु–ट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीतको संगीतकार अजय कार्की हुन् । संगीकार कार्कीका लागि यो गीत ‘टर्निङ प्वाइन्ट’ बन्न सक्छ । यस भिडियोलाई सिनेमाटोग्राफर राम केसीले खिचेका हुन् ।
छायाँकनमा खोट लगाउने कुनै ठाउँ छैन । थुप्रै फिल्म खिचिसकेका केसीले यस भिडियोमा पनि फिल्मीकला प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया