चाम्स-दर्पणबीच यस्तो सहकार्य : ‘माया यस्तो बनोस् हाम्रो’
अखबार टुडे
प्रकाशित:
२०७७, ३ कार्तिक

काठमाडौं, ३ कार्तिक । ‘माया यस्तो बनोस् हाम्रो’, सुन्दै प्रेमिल अर्थात प्रेमभाव बोकेको यो एक गीतको पहिलो लाइन हो । गीतमा पक्कै मायाका कुरा छन् । माया कस्तो बन्ने हो भन्नेचाहिँ केही दिनपछि थाहा हुनेछ । तर, यस गीतका गीतकार तथा मोडल दर्पण राई भने आशावादी छन् । उनी भन्छन्, ‘अहिलेसम्म दर्शकको जति माया पाइरहेको छु, त्यसमा इँटा थप्ने काम यो गीतले गर्नेछ ।’
हो, यो गीतको छायाँकन मंगलबार हुँदैछ । जुन गीतको भिडियोलाई सफल फिल्म निर्देशक मिलन चाम्सले गर्दैछन् । ‘माया यस्तो बनोस् हाम्रो’ गीतको भिडियो चाम्सले गर्न लागेकामा ठूलो कुरा होइन, तर जुन गीतमा उनले मोडल तथा गीतकार दर्पणलाई प्रस्तुत गर्दैछन्, त्यसमा खाश छ ।
चाम्स भूतपूर्व ब्रिटिस आर्मी हुन् । तर, उनी यतिमै सिमित छैनन् । चाम्सको परिचय भनेको कुसल निर्देशक हुन् । उनका हरेक फिल्म व्यवसायीरुपमा सफल छन् । अर्को कुरा चाम्सले ब्रेक दिएका अधिकांश कलाकार तथा मोडल अहिले हाइप्रोफाइलमा छन् । जसका कारण पनि गीतकार तथा मोडल दर्पण आशावादी बनेका हुन् ।
हिजोआज दैनिक दर्जनभन्दा बढी म्युजिक भिडियो निर्माण भइरहेका छन् । कोरोना संक्रमणका कारण फिल्म क्षेत्र भने ठप्पै छ । यस कारण पनि निर्देशक चाम्स भिडियो निर्देशनमा हिजोआज व्यस्त छन् । त्योभन्दा पनि चाम्ससँग काम गर्ने सुनौलो अवसर गीतकार दर्पणले पाएका छन् । ‘माया यस्तो बनोस् हाम्रो’ गीतको भिडियो रिलिज भएपछि दर्पणको करिअरमा टर्निङ प्वाइन्ट पनि आउन सक्छ । यो कुरा दर्पणले पनि स्वीकारेका छन् । सोमबार साँझ झलक्क भेटमा दर्पणले भने, ‘यो गीतको भिडियो फिल्मी शैलीमै सुट गदैछौँ । त्यसैले अपेक्षित छु ।’
निर्देशक चाम्सले दर्पणसँग यसबाहेक अर्को एक प्रोजेक्टमा पनि काम गर्दैछन् । दर्पणलाई गीतकारका रुपमा स्थापित गर्ने ‘तिम्ले बाटो फेरेयौं अरे’को सिक्वेल–२ को मेल भर्सनको भिडियो चाम्सले नै निर्देशन गर्दैछन् । तर, त्योभन्दा अगाडि ‘माया यस्तो बनोस् हाम्रो’ बन्दैछ । यसै गीतको भिडियोले दर्पण र निर्देशक चाम्सबीचको सहकार्यको माया प्रेमले पनि गति लिने÷नलिने भन्ने निर्धारण गर्नेछ ।
‘माया यस्तो बनोस् हाम्रो’ गीतलाई विक्रम राई र सम्झना राई गाएका हुन् । शब्द भने दर्पणकै रहेको छ । संगीत अजय कार्कीले गरेको हुन् । अजयको यसअघि संगीत क्षेत्रमा खाशै नाम नसुनिएको हुनसक्छ । तर, ‘माया यस्तो बनोस् हाम्रो’ गीतलाई भने यस्तो मेलोडियस बनाएका छन् कि जुन गीत रिलिज भएपछि दर्शक तथा श्रोता आफैंले भन्नेछन्, ‘वा यस्तो पो गीत’ ।

प्रतिक्रिया