दशैँ शुरु : सुनसान बसपार्क
अखबार टुडे
प्रकाशित:
२०७७, २ कार्तिक

काठमाडौं, २ कार्तिक । नेपालीको महान पर्व दशैँ शुरु भएपनि चहलपहल छैन । विगतका वर्षमा जस्तै चाडवाड मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेको छ ।
विश्वव्यापीरूपमा फैलिएको कोरोनाभाइरस कोभिड–१९ को संक्रमणका कारण ६ महिना बन्द रहेको सार्वजनिक यातायात एक महिनादेखि खुलेपनि यात्रु नहुँदा बसपार्क सुनसान छ । विगतका वर्षमा दशैँको समयमा गोँगबुस्थित नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बल्खुलगायत क्षेत्रमा टिकट नपाएर यात्रुहरु घण्टौँ बस कुरेर गन्तव्यस्थलसम्म पुग्ने गरेपनि यसपटक यात्रु नभएर बसपार्क क्षेत्र सुनसान बनेको हो । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउदेश्यीय प्रालिले कोभिड–१९ को समयलाई सदुपयोग गर्दै नयाँ बसपार्कमा कम्प्युटर प्रणालीमार्फत टिकट बुकिङ खुला गरे पनि भीडभाड हुने दशैँको समयमा समेत यात्रुहरु छैनन् ।
ल्होत्से बहुउदेश्यीय प्रालिले बढी भीडभाड हुने क्षेत्र नयाँ बसपार्कमा कोरोना संक्रमण फैलन नदिन सामाजिक दूरी कायम गरेर प्रविधिको प्रयोगमार्फत टिकट बुकिङ गर्ने व्यवस्था गरेको थियो । प्रालिका मानव संशाधन प्रमुख पंकज मल्ल कोभिड–१९ को संक्रमणका कारण यस वर्ष घर जाने यात्रुमा उत्साह नभएको बताउँछन् । उनका अनुसार विगतका वर्षमा घटस्थापनादेखि फूलपातीसम्म झण्डै दैनिक एक हजार हाराहारीमा सार्वजनिक यातायात नयाँ बसपार्कबाट बाहिरिने गरेपनि अहिले दैनिक २०० सवारी साधन बाहिरिँदै आएका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल अधिकांश यात्रु बन्दाबन्दी शुरु हुनुभन्दा पहिले नै घर गएका कारण दशैँको समयमा बसपार्क क्षेत्रमा यात्रुको चहलपहमा कमी आएको बताउँछन् । उनले भने, ‘विगत एक हप्तादेखि उपत्यका बाहिरिने यात्रुको संख्यामा क्रमशः वृद्धि हुँदै गएको छ ।’ विगतका वर्षहरुमा घटस्थापनादेखि फूलपातीको दिनसम्म दैनिक सरदर ८० हजारदेखि एक लाख यात्रु उपत्यका बाहिरिने गरे पनि यस वर्ष भने दैनिक १० देखि २० हजार यात्रु बाहिरिएको महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरीले चाडवाडको समयमा बढी भाडा लिने तथा यात्रुलाई अनावश्यकरूपमा दुःख दिने बस चालकको कारवाहीका लागि सादा पोशाकमा आठवटा टोली प्रहरी खटाएको छ । यस्तै १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ । यातायात व्यवसायीहरु बन्दाबन्दीका कारण छ महिना थन्किएका सार्वजनिक सवारी साधन मर्मतसम्भार गरेर सञ्चालनमा ल्याए पनि यात्रु नहुँदा समस्यामा परेको बताउँछन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला अधिकांश यात्रुहरु साना सवारी साधन रिजर्भ गरेर गन्तव्यस्थलसम्म गएका कारण पनि बसपार्कमा यात्रुको चहलपहल नभएको बताउँछन् । ‘अधिकांश यात्रु बन्दाबन्दी हुनुभन्दा अगाडि नै घर गएका छन्, बाँकी रहेका यात्रुलाई सरकारले जहाँ हुनुहुन्छ त्यहीँ दशैँ मनाउनुहोस् भनेका कारण पनि बसपार्क क्षेत्र सुनसान छ’, उनी भन्छन् । सरकारी तथ्यांकअनुसार बन्दाबन्दी पहिले नै झण्डै ७ लाख यात्रुले उपत्यका छोडिसकेका छन् ।

प्रतिक्रिया