भदौरे भिरमा स्कारिपियो खस्दा पाँच जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७७, २ कार्तिक

ओखलढुंगा, २ कार्तिक । ओखलढुंगा र उदयपुरको सिमानामा पर्ने भदौरे भिरमा स्कारपिओ दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । भैरहवाबाट ओखलढुंगातर्फ आउँदै गरेको बा२०च ७१७१ नंको स्कारपियो शबिनार राति १ बजे सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ को भदौरे भिरमा दुर्घटना भएको हो ।
दुर्घटनामा पाँच जानको घटनास्थलमै ज्यान गएको उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार मृतकमध्ये ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–९ माधवपुरका ४५ वर्षीय रामबहादुर सार्की र सोही ठाउँकै २६ वर्षीय कर्मे सार्कीको पहिचान खुलेको छ । बाँकी दुई पुरुष र एक महिलाको पहिचान खुलेको छैन ।
रिजर्भ गरेर गाउँ आएको हुनाले पहिचान नखुलेका अन्य तीन जना मृतक पनि ओखलढुंगाकै हुनसक्ने प्रहरीको अनुमान छ । अहिले मृतकको शव र दुर्घटनामा परेको गाडी घटनास्थलमै छ । दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा ओखलढुङ्गाको मानेभञ्याङ–९ की २८ वर्षीया कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रुपन्देही त्रिगम्वा नगरपालिका–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।
प्रहरीले राति ब्रेक फेल भएर स्कोरपिओ दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ । गाडी सडकबाट करिब एक किलोमिटर मिटर तल खसेको छ । उनीहरु सबै जना भारतबाट दशैँ मनाउन घरतर्फ आउने क्रममा भैरहवा क्वारेन्टिनमा बसेर गाडी रिर्जभ गरी आएको बुझिएको छ ।

प्रतिक्रिया