वर्षा ‘राम साइँली’ बनेपछि रुकमान राम साइँला…!
अखबार टुडे
प्रकाशित:
२०७७, ३० आश्विन

काठमाडौं, ३० असोज । सबैले चिन्ने भनेको रुकमान लिम्बू एक गायक हुन् । तर, उनी गीतमात्रै गाउँदैनन्, मोडलिङ र अभिनयमा पनि उत्तिकै व्यस्त छन् । एक किसिमले भन्ने हो भने उनी पछिल्लो समय गायनमा भन्दा बढी मोडलिङमा व्यस्त छन् ।
‘रुबुशा क्रियटिभ वर्कस’ नामक म्युजिक कम्पनी तथा यु–ट्युब च्यानलका सञ्चालकसमेत रहेका गायक रुकमान लिम्बू अब केही दिनकै एक भिडियोमा अभिनेत्री वर्षा सिवाकोटीसँग देखिँदैछन् । जुन गीतको बिहीबार भिडियो छायाँकन सम्पन्न भएको रुकमानले बताए ।

गायिका खुसी थुलुङले गाएको ‘राम साइँला’ बोलको लोकशैलीको उक्त गीतको बिहीबार कीर्तिपुर आसपास छायाँकन गरिएको हो । उक्त गीतमा रुकमान र वर्षाबीच अनस्क्रिन रोमान्स दर्शकले हेर्न पाउनेछन् । गायकसमेत रहेका विक्रम राईको संगीत रहेको ‘राम साइँला’ गीतलाई डिपी खनालले लेखेका हुन्, जो पछिल्लो समय गीत लेखनमा चर्तित छन् ।
‘राम साइँला’ गीतको भिडियोलाई युबराज वाइबाले निर्देशन गरेका छन् । निर्देशक वाइबा फरक किसिमको भिडियो निर्माणमा ख्याती कमाउँदै गएका छन् । उनले ‘राम साइँला’मा अभिनेत्री वर्षा र रुकमानलाई पनि फरक शैलीमा प्रस्तुत गर्ने प्रयास गरेका छन् । प्रायः पुर्वेली लोकगीतका भिडियोहरु एकै किसिमका हुने गर्छ । तर, ‘राम साइँला’को भिडियोमा दर्शक तथा श्रोताले केही फरक स्वाद पाउने मोडल तथा गायक रुकमानले दावी गरेका छन् ।
उक्त गीतको भिडियो यसै साता दर्शकसमक्ष सार्वजनिक गरिने निर्माणपक्षले जनाएको छ । भिडियोमा छायाँकन निसाल पौडेल, सह-निर्देशन लोमश पौडेल र सम्पादन विकास दाहालको रहने भएको छ । भिडियो कस्तो बन्यो भन्नेचाहिँ एक साता कुर्नैपर्ने भएको छ ।

प्रतिक्रिया