शुक्रबार ४ हजार ३९२ संक्रमित थपिए, २१ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७७, ३० आश्विन

काठमाडौं, ३० असोज । शुक्रबार काठमाडौं उपत्यकामा २४ सय २ जनासहित देशभर ४ हजार ३९२ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा १७ सय ८४, ललितपुरमा २४४ र भक्तपुरमा ३७४ गरी २४ सय २ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । शुक्रबार ४ हजार ३९२ जनामा संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म देशभर ३७ हजार ३८२ कोरोनाका सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १२ हजार ३३६ जना रहेका छन् भने २५ हजार ४६ होम आइसोलेसनमा छन् । यस्तै क्वारेन्टाइनमा ४ हजार ८०८ जना रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, शुक्रबार ३५ सय २२ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या ८८ हजार ४० पुगेको छ । हाल आइसीयूमा ३१५ र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । शुक्रबार कोरोनाका कारण २१ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ७१५ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १६ हजार ७३१ नमूनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिक्रिया