धरानमा थप दुई संक्रमितको मृत्यु, बिपी प्रतिष्ठानमा मृत्यु हुनेको संख्या ५३ पुग्यो
अखबार टुडे
प्रकाशित:
२०७७, २८ आश्विन

धरान, २८ असोज । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार बिहान ४ बजे इटहरी–६ की ६० वर्षीया महिला र मंगलबार राति मोरङको बेलबारी १० का ३७ वर्षीय युवकको प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार ती महिला यही असोज २४ गते प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएकी थिइन् । सोही दिन उनलाई कोरोना पोजेटिभ पुष्टि भएको थियो । उनी मधुमेहको बिमारी भएको बताइएको छ ।
यता ३७ वर्षीय युवकलाई भने असोज २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मंगलबार अपराह्न मात्र उनलाई प्रतिष्ठानमा भर्ना गरिएको थियो । कुनै दीर्घरोग नभएका ती युवकलाई श्वासप्रश्वासमा समस्या भएर अस्पताल ल्याइएको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए । उनको शव नेपाली सेनाले व्यवस्थापन गरिरहेको प्रतिष्ठानले जनाएको छ । यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।

प्रतिक्रिया