नगरप्रमुख र गाउँपालिकाका अध्यक्षलाई कोरोना संक्रमण
अखबार टुडे
प्रकाशित:
२०७७, २७ आश्विन

नवलपरासी, २७ असोज । नवलपरासीको बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्याललाई कोरोना संक्रमण पुष्टि भएको छ । नेशनल पथल्याब बुटवलमा सोमबार गरिएको पिसीआर परीक्षणको क्रममा उहाँलाई कोरोना संक्रमण पुष्टि भएको हो । रुघाखोकी र ज्वरो आएपछि केही दिनदेखि आराम गरिरहनुभएका नगरप्रमुख बस्यालले सोमबार स्वाब परीक्षण गर्दा आफू संक्रमित भएको पुष्टि गरेका छन् ।
उनी अहिले होम आइसोलेसनमाछन् । आफूसँग सम्पर्कमा रहनुभएकालाई सतर्क र सजग रहन आग्रह गर्दै प्रमुख बस्यालले छिट्टै कोरोना जितेर नागरिकको सेवामा फर्किने बताए । कोरोनालाई हेल्चेक्रयाइँ नगर्न भन्दै कोरोनाको लक्षणहरु देखिएमा नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न नगरप्रमुख बस्यालले सबैमा अनुरोध पनि गरे ।
यस्तै, दाङको बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा अध्यक्ष पौडेलसहित प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्ल, इञ्जीनियर राजेश देवकोटा, गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी सिद्धबहादुर केसी, बबई गाउँपालिका वडा नं २ का वडाध्यक्ष चिन्तामणि शर्मासहित छ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गाउँपालिकाका प्रेस संयोजक प्रेम राम्जाका अनुसार कोरोनाको लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । अहिले भने त्यस्तो लक्षण नदेखिएको उहाँले जानकारी दिनुभयो । जिल्लामा सोमबार मात्रै ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया