यस वर्षको ‘नोबेल शान्ति पुरस्कार’ विश्व खाद्य कार्यक्रमलाई
अखबार टुडे
प्रकाशित:
२०७७, २३ आश्विन

ओस्लो, २३ असोज (एजेन्सी) । सन् २०२० को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमलाई दिने घोषणा शुक्रबार गरिएको छ ।
विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले विश्वभर द्वन्द्वग्रस्त क्षेत्रमा पुगी समस्यामा परेको समुदाय वा व्यक्तिको खाद्यान्न सङ्कट टार्न र द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ गरेको महत्वपूर्ण भूमिकाका लागि यस वर्षको नोबेल शान्ति पुरस्कार डब्लुएफपीलाई दिने निर्णय गरिएको पुरस्कार छनोट समितिले बताएको छ । विश्व खाद्य कार्यक्रमका अनुसार उसले प्रत्येक वर्ष विश्वभरि ९.७ करोड मानिसलाई सहायता पु¥याउने गरेको छ ।
समितिले भनेको छ, ‘डब्लुएफपीको भोकमरीसँग जुझ्ने प्रयास, द्वन्द्वरत क्षेत्रमा शान्ति स्थापनार्थ गरिएका काम अर्थात् भोकमरीलाई युद्ध र द्वन्द्व अन्त्यको अस्त्रको रूपमा प्रयोग गर्न गरिएको योगदानका लागि उक्त संस्थालाई पुरस्कृत गरिएको हो ।’ उक्त पुरस्कारको राशि १० लाख अमेरिकी डलर रहेको छ ।
गत वर्ष इथियोपियाका प्रधानमन्त्री आबी अहमद अलीले नोबेल शान्ति पुरस्कार पाएका थिए । यसअघि चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यका विजेताको नाम घोषणा भइसकेको छ । पुरस्कृत भएपछि डब्लुएफपीको ट्वीटरमा लेखिएको छ, ‘यो विश्वका लागि एक शक्तिशाली स्मरण हो कि शान्ति र भोकमरीको अन्त्य सँगसँगै हुनसक्छ ।’
पुरस्कार घोषणापछि नियमित प्रेस वार्तालापमा जेनेभास्थित संयुक्त राष्ट्र संघको पोडियमबाट प्रवक्ता टोमसन फिरीले उक्त जीतलाई संयुक्त राष्ट्र संघको लागि थप जिम्मेवार र गौरवपूर्ण बनाउने थप जिम्मेवारी थपिएको बताए । उनले भने, ‘डब्ल्यूएफपी गतिविधिका एक सुन्दरता भनेको आज र भोलिको लागि खाना मात्र उपलब्ध गराउनु नभएर मानिसहरूलाई ज्ञानसहित भविष्यलाई धान्नको लागि सुसज्जित पनि गर्नु हो ।’
जेनेभामा भर्खरै डब्ल्यूएफपीका प्रवक्ता बनेका र दक्षिण सुडानमा हालसालै नौ वर्षसम्म संगठनको लागि काम गरिसकेका फिरीले भने, ‘थप हजारौँ किलोमिटर यात्रा गर्न विश्वभरि कति मानिसहरू समर्पित छन् डब्लुएफपी र यसको नेतृत्वले स्पस्ट बुझेको कुरा हो ।’ आगामी दिनमा डब्लुएफपीले थप जिम्मेवार बन्दै विश्व शान्तिका लागि काम गर्ने उनको भनाइ थियो । ‘हामीले दक्षिण सुडान, सिरिया, यमन र अफगानिस्तान जस्ता देशहरूमा के भइरहेको छ देख्यौं, त्यो हो जहाँ द्वन्द्व छ, सहायता अनियमित हुन्छ’ उनले भने ।

प्रतिक्रिया