भूमिकाको वनचरी : एउटी नारीको जीवनयात्रा…! (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७७, २३ आश्विन

काठमाडौं, २३ असोज । गीतकार तथा सामाजिक अभियन्ता भूमिका सुब्बाको नयाँ गीत ‘बनचरी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा एउटी नारीको जीवनयात्रालाई समेटिएको छ ।
गीतमा एउटी छोरीले जन्मदिने आमाप्रति दर्शाउने अगाधप्रेम र माइती गाउँको ‘नोस्टाल्जिया’लाई प्रस्तुत गरिएको गीतकार सुब्बाको भनाइ छ । गीतकार सुब्बा एक राम्रो गायिका समेत हुन् । नेपाल जनसांस्कृतिक महासंघकी केन्द्रीय कोषाध्यक्षसमेत रहेकी सुब्बाले मालिंगो सैसै, भूमिका र संगिनीजस्ता तीन सोलो एल्बम ल्याइसकेकी भने आधा दर्जनभन्दा बढी सयुक्त गीतिसंग्रह बजारमा ल्याएकी छन् ।
बाल्यकालबाटै कलाकारिता क्षेत्रमा लागेकी सुब्बा खासगरी जनवादी गायिकाको रुपमा चिनिन्छिन् । पछिल्लो समय उनी गीत लेखनमा लागेकी हुन् । त्यसैको निरन्तरता नै हो ‘बनचरी’ । चर्चित गायिका एलिना चौहानको स्वर रहेको उक्त गीतमा कलाकार लक्ष्मी बर्देवाले जीवन्त अभिनय गरेकी छन् । उनलाई आमाको रुपमा अञ्जु देउजाले साथ दिएकी छन् ।
साजन राईको संगीत रहेको यस भिडियोलाई किरण चाम्लिङ राईले निर्देशन गरेका हुन । बिजू कर्मचार्यले एरेन्ज गरेको यो गीत भर्जिन भ्वाईसको स्टुडियोमा रेकर्ड गरिएको हो । भूपेन्द्र तुम्बाहाङ्फेले छायाँकन गरेको भिडियोमा काठमाडौं उपत्यकाका आसपासको ग्रामिण दृश्यहरु समेटिएका छन् ।

प्रतिक्रिया