नेपाल खबर

४४६ जनाले गरे आँखा दानको सम्झौता

चितवन, २२ असोज । विश्व दृष्टि दिवसको अवसरमा ४४६ जनाले मरणोप्रान्त आँखा दान गर्ने सम्झौता गरेका छन् । लायन्स क्लब अफ इन्टरनेशनल ३२५ वि टु एरिया नं ३ को सहकार्यमा उनीहरुले आँखाको नानी दान सम्झौता गरेका हुन् ।
लायन्सकर्मीले आँखा दान सम्झौता गरेको पत्र बिहीबार एक समारोहबीच लायन्स क्बलका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले नेपाल नेत्रज्योति संघका जिल्ला सभापति एवं भरतपुर आँखा अस्पताल सञ्चालक समितिका अध्यक्ष कृष्णराज धरेललाई हस्तान्तरण गरे ।
आँखाका क्षेत्रमा ठूलो सहयोग गर्दै आएको लायन्स क्लबले आँखा दान कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि यो अभियान सञ्चालन गरेको भट्टले बताए ।
क्लबले आँखा अस्पताललाई विभिन्न किसिमका उपकरण सहयोग, विभिन्न समयमा आँखा शिविर जस्ता कार्यक्रम गर्दै आएको छ । लायन्स क्लबको एरिया नं ३ का चिफ एरिया कोअर्डिनेटर प्रभाकर पण्डितको अध्यक्षतामा भएको सो कार्यक्रममा धरेलले अस्पतालले निकट भविश्यमा नै चितवनमा आँखा बैंक स्थापना गर्ने योजनाका साथ काम अघि बढाइरहेको जानकारी दिए ।
भीमराज उषामाया पाठक आँखा बैंकका नामबाट स्थापना गरी काम अघि बढेको उनले बताए । अहिले जिल्लामा आँखा बैंक नहुँदा तिलगंगा आँखा अस्पतालबाट आँखाको नानी मगाउनुपर्ने बाध्यता रहेको छ । यहाँ निकालिएका आँखा पनि व्यवस्थापनका लागि काठमाडौँ पठाइँदै आइएको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top