श्रीलंकामा कर्फ्यु, भिडभाड हुने गतिविधि गर्न प्रतिबन्ध
अखबार टुडे
प्रकाशित:
२०७७, २१ आश्विन

कोलम्बो, २१ असोज (एजेन्सी) । श्रीलंकामा लगाइँदै आएको कर्फ्युलाई बुधबार थप विस्तार गरिएको छ । कोरोनाभाइरसको संक्रमण फैलिँदै गएकाले त्यसलाई थप बढ्न नदिन कर्फ्यु बढाउदै लैजाने निर्णय भएको अधिकारीहरुले जनाएका छन् ।
श्रीलंकामा पछिल्लो एकै दिनमा ८३० जना संक्रमित थपिएका छन् । श्रीलंकामा अहिले १५ सयभन्दा बढी मानिस घरमै क्वारेन्टिनमा बसेका छन् । श्रीलंकामा हालसम्म कोरोनाभाइरसबाट तीन हजार ७३३ जना संक्रमित भएका छन् । तीमध्ये १३ जनाको मृत्यु भएको छ । त्यस्तै, कुल संक्रमितमध्ये तीन हजार २६६ जना संक्रमणमुक्त भइसकेका छन् ।
श्रीलंकामा कोरोनाभाइरस समुदायस्तरमा फैलिएको आइतबार दुई महिना पुगेको छ । संक्रमित हुनेहरुमा उद्योगधन्दामा काम गर्नेहरु बढी छन् । क्वारेन्टिनमा बसेकाहरुलाई पनि कडाइका साथ क्वारेन्टिन सम्बन्धी नियम पालना गर्न सरकारी अधिकारीहरुले आग्रह गरेका छन् । उलंघन गर्नेलाई तीन महिनासम्म जेल सजाय हुने व्यवस्था गरिएको छ ।
त्यसैगरी स्वास्थ्य मन्त्रालयले अर्को छुट्टै आदेश जारी गर्दै सार्वजनिक रुपमा भिडभाड नगर्न आग्रह गरेको छ । प्रदर्शनी, भोजभतेर, सभा सम्मेलन, भित्रि तथा वाहिरी समारोह, सांस्कृतिक कार्यक्रमलगायतका भिडभाड हुने गतिविधि गर्न प्रतिबन्ध लगाइएको हो । प्रहरीले राजधानी कोलम्बोमा कर्फ्यु लगाएको छ । सरकारले यसअघि विद्यालय, विश्वविद्यालय, सार्वजनिक यातायातलगायत संचालनमा रोक लगाउँदै आएको थियो ।
सरकारी अधिकारीहरुले कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि आम नागरिकले सहयोग नगरेमा अनियन्त्रित हुने चेतावनी दिएका छन् । प्रहरी र स्वास्थ्यकर्मीहरुले घर घरमै गएर पनि नियन्त्रण र परीक्षणको काम गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया