‘लकडाउन मेरो लागि अवसर बन्यो’
अखबार टुडे
प्रकाशित:
२०७७, २० आश्विन

कुसुम श्रेष्ठ, फेसन डिजाइनर, कुसुम द बुटिक

कोरोनाबाट अति प्रभावित क्षेत्रमध्ये फेसन बजार पनि हो । शौखिनहरुको दुनियाँ मानिने फेसन बजार कोरोना संक्रमणपछि अपवादबाहेक प्रायः ठप्प छ । तिनै अपवादमध्ये एक हो, डिल्लीबजारस्थित ‘कुसुम द बुटिक’ यो बुटिक सञ्चालनमा आएदेखि आफ्नो बजार ओगट्न सफल हुँदै आएको छ । कोरोना महामारीबीच पनि व्यापार सुचारु राखेकी बुटिककी सञ्चालिका तथा फेसन डिजाइनर कुसुम श्रेष्ठ भन्छिन्, ‘मेरो लागि लकडाउन फलिफाप जस्तै भएको छ ।’ काठमाडौंमा सयौँ बुटिकहरु बन्द हुने अवस्थामा छन् । तर, कुसुमलाई भने भ्याइनभ्याई छ । उनी भन्छिन्, ‘म्युजिक भिडियो र फोटोसुटबाट नाम र दाम एकैसाथ मिलेको छ ।’ बुटिककी सञ्चालिका तथा फेसन डिजाइनर कुसुम श्रेष्ठसँग कुराकानी ।
कोरोना संक्रमणको अवस्थामा बुटिक व्यवसायी कस्तो छ ?
– धेरै बुटिकहरु बन्द भइसकेका छन् । कुनै बन्द हुने अवस्थामा पुगेका छन् । त्यो कोरोनाकै कारण हो । झण्डै ६ महिनासम्म बुटिक बन्द गर्नुपरेको थियो । जसले व्यवसायीमा असर पर्ने चिन्ता थियो । तर, अहिले म्युजिक भिडियो र फोटोसुटको कामले कभरेज गरेको छ ।
लकडाउनमा पनि व्यापार चलिरहेको थियो ?
– करिब चार महिनाचाहिँ ठप्प थियो । तर, विस्तारै अनलाइनबाट अर्डर आउन थाल्यो । त्यसपछि म्युजिक भिडियो र फोटोसुटका लागि अर्डरहरु आउन थाले । अहिले त भ्याइनभ्याई भएको छ ।
अन्य बुटिक बन्द हुने अवस्था छन् । तपाइँलाई भ्याइनभ्याई कसरी ?
– खै, त्यो कसरी भन्नु । यो बुटिक सञ्चालनमा ल्याएदेखि नै मलाई फापेको छ । अर्को मेरो सर्वसाधारण भन्दा बढी सेलिब्रेटी ग्राहक छन् । यदि म पनि नर्मल कस्टमरमै भर परेको भए हालत उस्तै हुन्थ्यो होला ।
त्यसोभए लकडाउनले खाशै असर गरेन ?
– मेरो लागि कोरोना संक्रमणपछिको लकडाउन त अवसर जस्तै भयो किनकि यही समयमा म्युजिक भिडियो र फोटोसुटका लागि कामहरु पाएँ । साथै, सेलिब्रेटीसँग चिनजान गर्ने अवसर पनि मिल्यो । यसले मलाई दोहोरो फाइदा भएको छ ।
भिडियो र फोटोसुटमा फाइदाचाहिँ कसरी हुन्छ ?
– निर्देशक र फोटोग्राफरले गीत र लोकेशनको थिमअनुसार पहिरनको अर्डर गर्छ । भिडियो सुट भइसकेपछि कपडा फिर्ता हुन्छ । भाडावापत पैसा पनि आउँछ । एकातिर आफ्नो कामको प्रचार हुन्छ भने त्यो पहिरन अर्को भिडियो वा फोटोसुटका लागि फेरि–फेरि भाडामा जान्छ ।
यसरी बुटिकमा तयार गरिएको पहिरन भाडामा दिँदा घाटा हुन्न ?
– हुँदैन । मिहिनेत गरेअुनसार भाडा लिने गरेकी छु । भिडियो र फोटोसुटबाहेक अन्य प्रायोजनका लागि दिने गरेकी छैन । अर्को कुरा एकपटक प्रयोग भइसकेको कपडामात्र भाडा दिने गरेकी छु ।
एक सेट भिडियोका लागि कति भाडा लिनुहुन्छ ?
– त्यो थिमअनुसार हुन्छ । बुटिकमै तयारी अवस्था रहेको पहिरन छ भने यस्तो हुन्छ । तर, निर्देशकले गीतको भाव र थिमअनुसार अर्डर गर्छ भने १५ देखि २० हजार रुपैयाँसम्म लाग्छ ।
लकडाउन यता कति टटा भिडियोलाई कपडा दिनुभयो ?
– करिब १५ वटा म्युजिक भिडियोलाई लुगा डिजाइन गरेँ । फोटोसुट पनि १०/१२ जना कलाकारको भयो । उनीहरुलाई मैले नै पहिरन तयार गरिदिएँ । केही दिनअघि मात्र नेपाली फिल्म ‘ए मेरो हजुर–४’को पोस्टरका लागि अनमोल केसी र सुहाना थापाको पहिरन डिजाइन गरेकी थिएँ ।
दशैँ नजिकिँदै छ । कतिको अर्डर आइरहेको छ ?
– नर्मल कस्टमरको व्यापार ५० प्रतिशत कम छ । अघिल्लो वर्ष यतिखेर बुटिकमा भीड थियो । तर, अहिले छैन । चिनेको जानेको फाट्टफुट्टमात्र आइरहेका छन् । विदेशबाट अनलाइनमा अर्डर आइरहेको छ । व्यापार भनेको अनलाइन र म्युजिक भिडियोबाटै हो ।
पछिल्लो समय बजारमा बढी चलेको फेसन के हो ?
– प्रायः बढी जाने भनेको सारी, कर्था र गाउन नै हो । त्यसमा केही परिमार्जन हुनसक्छ । तर, यी सधैका लागि चलिरहन्छ । साथै, क्याजुअल पहिरन पनि जान्छ ।
फेसन व्यवसायीबाट आत्मनिर्भर हुनसक्ने सम्भावना कतिको छ ?
– पछिल्लो केही वर्षयता नेपालमा फेसनको बजार राम्रै छ । यदि कोरोना संक्रमणको महामारी नआएको भए नेपालमा फेसन ट्रेण्ड अझ बढ्थ्यो होला । तर, यो विश्वव्यापी महामारीले गर्दा फेसन बजारमात्र नभएर सबै क्षेत्र प्रभावित भएको छ । यस्तो अवस्थामा व्यवसायी टिकाइराख्न सक्यो भने भविष्य राम्रै छ ।
–दृष्टिबाट

प्रतिक्रिया