अफगानिस्तानमा बम हमला गरी जिल्ला प्रमुखको हत्या
अखबार टुडे
प्रकाशित:
२०७७, १९ आश्विन

काबुल, १९ असोज (एजेन्सी) । अफगानिस्तानको हेल्माण्ड प्रान्तका एकजना जिल्ला प्रमुखको हत्या गरिएको समाचारमा जनाइएको छ । आइतबार भएको सो बम हमलामा परी अफगानिस्तानको हेल्माण्ड प्रान्तका जिल्ला प्रमुख नाकिबुल्लाह रोशनको ज्यान गएको हो ।
हेल्माण्ड प्रान्तका प्रान्तीय गभर्नर ओमार जवाकले उक्त कुराको जानकारी गराएका छन् । उनले तालिबानीहरुले गरेका बम आक्रमणमा परी उनको ज्यान गएको जानकारी दिए । रोशन उक्त प्रान्तको लस्कर ए गाह जिल्लाका एक लोकप्रिय नेता पनि रहेको जानकारी गराइएको छ ।
प्रान्तीय गभर्नर जवाकले उक्त जिल्लामा रहेका अर्का कानुनी अधिकारी पनि नराम्ररी घाइते भएको जानकारी यहाँका स्थानीय सञ्चारमाध्यमहरुलाई दिएका छन् । पछिल्ला केही दिनहरुमा उक्त क्षेत्रमा तालिबानीहरुले बम हमलाका घटनाहरु गराइरहेका छन् । अफगान सरकार र तालिबानीहरुकाबीचमा कतारको दोहामा हालै वार्ता शुरु भएको बताइएको थियो ।

प्रतिक्रिया