नयाँदिल्लीका ३१ अक्टोबरसम्म विद्यालयहरू बन्द
अखबार टुडे
प्रकाशित:
२०७७, १८ आश्विन

नयाँदिल्ली, १८ असोज । कोभिड–१९ को महामारीका कारण लामो समयदेखि बन्द रहेका भारतको राजधानी नयाँदिल्लीका विद्यालयहरू यस महिनाको अन्त्यसम्म बन्द रहने दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोडियाले आइतवार बताएक छन् ।
‘दिल्लीमा विद्यालयहरू बन्द राख्ने निर्णयलाई थपिएको छ । मैले दिल्लीमा सबै विद्यालयहरू अक्टोबर ३१ सम्म बन्द गर्ने निर्देशन जारी गरेको छु । यसबारेको आदेश चाँडै जारी गरिनेछ’ सिसोडियालाई भारतको राष्ट्रिय दैनिक हिन्दुस्तान टाइम्सले उद्धृत गरेको छ । यो घोषणा भारतमा शैक्षिक संस्थाहरूलाई सोमबारदेखि आंशिक भएपनि खोल्ने भनी गरिएका हल्ला र अनुमानबीच आएको हो ।
यस पहिलेको निर्देशनमा महामारीका कारण नयाँदिल्लीमा विद्यालयहरूलाई अक्टोबर ५सम्म बन्द गर्ने उल्लेख गरिएको थियो । संघीय सरकारले गत सेप्टेम्बर ३० मा कोभिड–१९ को लकडाउनलाई थप खुला गर्नका लागि नियमहरू सार्वजनिक गरिएको थियो ।
यद्यपि विद्यार्थीहरूले अनलाइन कक्षाहरूमा सामेल हुन चाहेमा उनीहरूलाई यसका लागि अनुमति दिइएको छ । विद्यार्थीको हाजिरका लागि बाध्य पार्न नपाइने र अविभावकको सल्लाहमा अनलाइन कक्षामा सहभागिता गराउन सकिने सरकारी निर्देशनमा उल्लेख छ ।
विश्वमा कोभिड–१९ का कारण दोस्रो बढी प्रभावित भारतमा दिल्ली छैठौँ बढी प्रभावित राज्य हो । दिल्लीमा अहिलेसम्म दुई लाख ८७ हजार ९३० व्यक्ति कोभिड सङ्क्रमित भएकोमा पाँच हजार ४७२ व्यक्तिको मृत्यु भएको छ । आइतबारको तथ्याङ्क अनुसार भारतमा कूल ६५ लाख ४९ हजार ३७३ व्यक्ति कोभिड–१९ सङ्क्रमित भएका छन् भने एक लाख एक हजार ७८२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया