देशैभर बढ्दै संक्रमित, उपत्यकामा मात्रै थपिए एक हजार १७७ संक्रमित
अखबार टुडे
प्रकाशित:
२०७७, १७ आश्विन

काठमाडौं, १७ असोज । उपत्यकालगायत देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । त्यसमा पनि काठमाडौं उपत्यका सबैभन्दा बढी संक्रमणको जोखिम परेको छ । शनिबारमात्रै उपत्यकामा एक हजार १७७ जना नयाँ संक्रमित थपिएका छन् ।
शनिबार उपत्यकासहित गरी देशैभर दुई हजार १२० मा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोभिड–१९ मुक्त भई घर फर्किनेको संख्या दुई हजार ४४ रहेको जानकारी दिए ।
हालसम्म देशभरी जम्मा सक्रिय संक्रमितको संख्या २१ हजार ३०२ छ । संस्थागत आइसोलेसनमा रहेका व्यक्तिहरुको संख्या ९ हजार ७७३ छ । प्रदेश १ मा २४०, प्रदेश २ मा ६११, बाग्मती प्रदेशमा छ हजार ८९३, गण्डकी प्रदेशमा ३८७, प्रदेश ५ मा ९५१, कर्णाली प्रदेशमा ३७७ र सुदुरपश्चिम प्रदेशमा ३१४ जना छन् । प्रवक्ता गौतमका अनुसार होम आइसोलेसनमा रहनुभएका व्यक्तिहरुको सङ्ख्या प्रदेश १ मा एक हजार ७०५, प्रदेश २ मा ५१८, बाग्मती प्रदेशमा सात हजार ३७, गण्डकी प्रदेशमा ५३२, प्रदेश ५ मा एक हजार २०५, कर्णाली प्रदेशमा २३०, सुदुरपश्चिम प्रदेशमा ३०२ जना गरी जम्मा एघार हजार ५२९ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा गरिएको पिसिआर १२ हजार ९७८ मा गरिएको छ । त्योसँगै हालसम्म १० लाख ६१ हजार ६६४ परीक्षण गरिएको छ । क्वारेन्टिनमा रहेका व्यक्तिहरुको संख्या ४ हजार २७३ छ । प्रदेशअनुसार प्रदेश १ मा ५०८, प्रदेश २ मा १२७, बाग्मती प्रदेशमा ५०७, गण्डकी प्रदेशमा ६४१, प्रदेश ५ मा एक हजार २०९, कर्णाली प्रदेशमा ६०३ र सुदुरपश्चिम प्रदेशमा एक हजार ६७८ जना रहेका छन् । संक्रमण मुक्त भई हालसम्म घर फर्कनेको संख्या ६२ हजार ७४० जना रहेका छन् ।
कोभिड–१९ बाट मुक्त हुनेको संख्या ७४.१ प्रतिशत छ । देशैभरी आइसियुमा उपचाररत विरामीको संख्या २१७ जना छन् । भेन्टिलेटरमा उपचारत संख्या जम्मा ३१ रहेको छ । कोभिड–१९ बाट ८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ५२८ पुगेको छ ।
मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढि सक्रिय संक्रमित रहेका छन् । कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् । विश्वमा हालसम्मको तथ्यांक हेर्दा तीन करोड ४८ लाख ३७ हजार ४२ जना व्यक्ति कोभिड–१९ बाट संक्रमित भएका छन् । त्यसमा निको हुनेको सङ्ख्या दुई करोड ५१ लाख ५७ हजार ६६० रहेको छ ।

प्रतिक्रिया