हालसम्मकै बढी संक्रमित : एकैदिन २ हजार ७२२ जना, मृत्यु हुनेको संख्या ५२० पुग्यो
अखबार टुडे
प्रकाशित:
२०७७, १६ आश्विन

काठमाडौं, १६ असोज । नेपालमा कोरोना भयावह बन्दै गएको छ । शुक्रबार हालसम्मकै धेरै संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशका विभिन्न प्रयोगशालामा १४ हजार ७३९ जनामा गरिएको पिसिआर परीक्षणमा दुई हजार ७२२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा तीन हजार ३०७ जना कोरोनालाई जितेर घर फर्किएको जानकारी दिए । योसँगै घर फर्किनेको संख्या ६० हजार ६९६ पुगेको छ । सो अवधिमा काठमाडौं उपत्यकामा एक हजार ६३८ सङक्रमित थपिएका छन् । सो संख्या उपत्यकाको हालसम्मकै उच्च हो ।
मन्त्रालयका अनुसार काठमाडौँमा एकहजार २८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ जनामा संक्रमित थपिएका हुन् । देशभर २१ हजार २३४ जना सक्रिय संक्रमितमध्ये होम आइसोलेशनमा ११ हजार ७६० रहेका छन् भने संस्थागत आइसोलेशनमा ९ हजार ४७४ जना रहेका छन् । त्यसैगरी क्वारेन्टिनमा चार हजार ८८५ जना छन् ।
यस्तै, शुक्रबार कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । संक्रमित बढिरहेका बेला मृत्युदर पनि बढ्दै गएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२० जना पुगेको छ । आठ वटा जिल्लाका चार महिला र सात पुरुष गरी ११ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । मोरङमा २७ वर्षीय पुरुष, ललितपुरमा ३२ पुरुष र ७० वर्षीय पुरुषको निधन भएको छ भने भक्तपुरमा ६१ र ५१ वर्षीया महिला, काठमाडौँमा ६७ वर्षीया महिलाको मृत्यु भएको छ ।
त्यसैगरी मकवानपुरमा ७८ वर्षीय पुरुष, रुपन्देहीमा ६० वर्षीय पुरुष, बाँकेमा ५२ र ५९ वर्षीय पुरुष र सुर्खेतमा ७५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयल जनाएको छ । कुल सङ्क्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया