इजरायलमा नेपालीका लागि श्रम बजार खुला
अखबार टुडे
प्रकाशित:
२०७७, १५ आश्विन

काठमाडौं, १५ असार । इजरायलका लागि नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपाली युवाका लागि खुला भएको छ । नेपाल र इजरायलबीच इजरायली परराष्ट्र मन्त्रालयमा बुधबार रोजगारीसम्बन्धी सम्झौतामा हस्तक्षर भएको छ ।
सम्झौतामा नेपालको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्य र इजरायलको तर्फबाट त्यहाँका परराष्ट्रमन्त्री गाबी आस्खेनाजीले हस्ताक्षर गरेका छन् । यसले केयर गिभर, कृषि, होटल र रेष्टुरेष्ट, निर्माणलगायतका क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिलाउनेछ । यद्यपि, प्रत्येक क्षेत्रका लागि ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा हस्ताक्षर गरेपछि मात्रै श्रमिक भर्नाको प्रक्रिया शुरु हुने तेलअविवस्थित नेपाली दूतावासले जनाएको छ ।
यसअघि विभिन्न चरणमा छलफल भई सहमतिसमेत भइसकेकाले पहिलो क्षेत्रका रुपमा इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नर्सिङ होम, दिवा स्याहार केन्द्रलगायत)मा नेपालबाट केयरगिभर ल्याउनेसम्बन्धी ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ मा छिट्टै सम्झौता हुने दूतावासको भनाइ छ । त्यसका लागि नेपालका लागि इजरायली राजदूत र सम्बन्धित नेपाली अधिकारीबीच सो प्रोटोकलमा काठमाडौँमा हस्ताक्षर हुनेछ र तत्पश्चात् केही महिनाभित्रै पहिलो चरणमा ५०० नेपाली रोजगारीका लागि इजरायल जानेछन् ।
यसैगरी इजरायली अन्तरराष्ट्रिय विकास साझेदार संस्थाको तत्वावधानमा नेपालमा इजरायली कृषि प्रविधि भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षर भएसँगै नेपालमा कृषि पूर्वाधार निर्माणले तीव्रता पाउनेछ भने पूर्वाधार निर्माणका सिलसिलामा कृषि क्षेत्रमा उल्लेख्य रोजगारीका अवसर सिर्जना भई नेपाली युवाको विदेशिने क्रममा समेत कमी आउने विश्वास गरिएको छ । यसले कृषिप्रधान मुलुक नेपालको कृषि क्षेत्रको विकासमा ठोस योगदान दिने अपेक्षा गरिएको छ ।
केही दिनअघि नेपाल सरकारले इजरायलसँग रोजगारी र कृषिसम्बन्धी सम्झौता गर्नका लागि इजरायलका लागि नेपाली राजदूत शाक्यलाई अख्तियारी दिएको थियो । सम्झौतामा हस्ताक्षर हुनुअघि राजदूत शाक्य र इजरायलका परराष्ट्रमन्त्री आस्खेनाजीबीच द्विपक्षीय भेटवार्ता भएको थियो । भेटमा दुई देशबीच आपसी सहकार्यका विभिन्न सम्भावित क्षेत्रका बारेमा विचारविमर्श भएको दूतावासले जनाएको छ ।
राजदूत शाक्यले दक्ष तथा अर्धदक्ष नेपाली श्रमिकका लागि इजरायलको कृषि, सेवा, निर्माणलगायत रोजगारीका क्षेत्र पनि खुला गर्न आग्रह गरेकी थिइन् । प्रतिउत्तरमा इजरायली परराष्ट्रमन्त्री आस्खेनाजीले नेपालसँग सहकार्य गर्न अत्यन्तै इच्छुक रहेको बताएको नेपाली दूतावासाले जनाएको छ ।

प्रतिक्रिया