एकैदिन थपिए एक हजार ९११ संक्रमित, नेपालमा संक्रमित संख्या ८० हजारनजिक
अखबार टुडे
प्रकाशित:
२०७७, १५ आश्विन

काठमाडौं, १५ असोज । नेपालमा बिहीबार एकैदिन एक हजार ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो एकैदिन संक्रमित भेटिएको अहिलेसम्मै धेरै हो ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा १२ हजार ४४४ जनाको पिसिआर परीक्षणका क्रममा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबारसम्ममा नेपालमा संक्रमित हुनेको संख्या ७९ हजार ७२८ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार बिहीबार काठमाडौं उपत्यकाका ९४३ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौंमा ८१७, भक्तपुरमा ५८ र ललितपुरमा ६८ जना रहेका छन् । सोही अवधिमा भाइरस संक्रमण भई घर फर्किनेको संख्या ९६१ जना रहेको छ । योस“गै डिस्चार्ज हुनेको संख्या ५७ हजार ३८९ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । जसमा १० पुरुष र एक महिला छन् । योस“गै कोरोनाबाट निधन हुनेको संख्या ५०९ पुगेको छ ।

मृत्यु हुनेमा सुनसरीको ५६, ५० र २७ वर्षीय पुरुष, काठमाडौंका ७८ र ६८ वर्षीय पुरुष, भक्तपुरको ६८ वर्षीय पुरुष र ललितपुरको ४८ वर्षीय पुरुष छन् । यसैगरी बाँकेकी ३४ वर्षीया महिला, रुपन्देहीका ८०, ५५ र ४२ वर्षीय पुरुषको निधन भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी २१ हजार ८३० जना सक्रिय संक्रमितमध्ये ११ हजार ६९ जना होम आइसोलेशनमा रहेका छन् भने संस्थागत आइसोलेशनमा १० हजार ७६१ छन् । मन्त्रालयका अनुसार देशभर २२० जना कोरोना संक्रमित विभिन्न अस्पतालको सघन उपचार कक्षमा र २५ जना भेन्टिलेटरमा उपचाररत छन् । क्वारेन्टिनमा पाँच हजार ७७ जना छन् ।

प्रतिक्रिया