रसिया-कोरिया व्यापार २५ अर्ब डलरनजिक
अखबार टुडे
प्रकाशित:
२०७७, १३ आश्विन

मस्को, १३ असोज (एजेन्सी) । रसिया र दक्षिण कोरियाबीच द्विपक्षीय व्यापार करिब २५ अर्ब डलर बराबर पुगेको रुसी विदेशमन्त्री सर्गेई लाभरोभले बताएका छन् ।
दक्षिण कोरियाली समाचार संस्था योनहापसँग कुरा गर्दै विदेश मन्त्री लाभरोभले रसियाका लागि दक्षिण कोरिया अहिले एउटा प्रमुख आर्थिक तथा व्यापारिक साझेदारका रुपमा उदाएको बताए । उनले दुवै देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप विस्तार गर्नेतर्फ कार्यहरु निकै द्रुत गतिमा अगाडि बढेको बताउँदै कोरोनाभाइरसको परिस्थितिमा केही सुधार हुनासाथ रुसी राष्ट्रपतिले दक्षिण कोरियाको भ्रमण गर्ने सम्भावना रहेको बताए ।
विदेशमन्त्री लाभरोभले कोरियाली प्रायःद्वीपमा शान्तिपूर्ण अवस्थाको निर्माण गरी उत्तर कोरिया, दक्षिण कोरिया र रसिया सम्मिलित त्रिदेशीय आर्थिक साझेदारी निर्माण गर्नुपर्ने पक्षमा रसिया रहेको बताए ।
सन् २०१८ मा दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनको रसियाको औपचारिक भ्रमण समेतका उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा लैजान मद्दत गरेको उनले भनाइ छ । दक्षिण कोरिया र रसियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ३० वर्ष पुगेको छ ।

प्रतिक्रिया