नेपाल कोरोना अपडेट : संक्रमित संख्या ७० हजार ६१४, ४५९ को मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७७, ९ आश्विन

काठमाडौं, ९ असोज । नेपालमा शुक्रबार थप एक हजार ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएका १२ हजार २६२ जनाको पिसिआर परीक्षणमा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रलायका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार योसँगै कूल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा एक हजार ४५५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ । मन्त्रालयको अनुसार निको हुने कूल सङख्याको ७३.४ प्रतिशत हो । देशभर १८ हजार २८९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी हालसम्म आइसियुमा २२७ जना उपचाररत छन् भने भेन्टिलेटरमा ३९ जना उपचाररत छन् । संस्थागत आइसोलेशनमा आठ हजार २३७ र होम आइसोलेशनमा १० हजार ५२ जना रहेका छन् । क्वारेन्टिनमा ६ हजार ४६४ जना छन् । पाँच सयभन्दा बढी सक्रिय संक्रमित जिल्लामा मोरङ, सिराह, चितवन, रुपन्देही, काठमाडौँ, ललितपुर र भक्तपुर गरी सात जिल्ला छन् भने शून्य सङ्क्रमित रहेको जिल्लामा सोलुखुम्बु, मनाङ, रसुवा, हुम्ला, मुगु, मुस्ताङ र रोल्पा रहेका छन् ।
पछिल्लो २४ घण्टामा छ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४५९ पुगेको छ । मृत्यु हुनेमा मोरङका ६० वर्षीया महिला र ५५ वर्षीय पुरुष, सप्तरीका ७० वर्षीय पुरुष, ललितपुरका ५१ वर्षीय पुरुष, काठमाडौँका ७५ र कपिलवस्तुकी ७० वर्षीया महिला छन् ।

प्रतिक्रिया