यसरी गरियो घुन्सा दुर्घटनाको सम्झना
अखबार टुडे
प्रकाशित:
२०७७, ७ आश्विन

काठमाडौं ७ असोज । ताप्लेजुङको घुन्सामा संरक्षणको क्षेत्रमा काम गर्ने स्वदेशी र विदेशी २४ जना संरक्षणकर्मी हेलिकोप्टर दुर्घटनामा परी निधन भएको १४ वर्ष पूरा भएको छ ।
दुर्घटनामा निधन भएकाहरुको योगदानको स्मरण गर्दै बुधबार राष्ट्रिय संरक्षण दिवस मनाएको छ । २०६३ असोज ७ मा भएको दुर्घटनामा निधन भएकाहरूको स्मरण गर्दै ७ असोजलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाइने गरिएको हो । यस अवसरमा जल सम्पदा तथा वातावरण संरक्षण कोष नेपालले एक कार्यक्रमको आयोजना गरी दुर्घटनामा परि दिबंगत भएकाहरुको सम्झनामा एक मिनेट मौनधारण गरि तस्विरमा माल्यार्पण कार्यक्रम गरेको छ ।
संस्थाका अध्यक्ष पुष्पराज पाण्डेले कार्यक्रममा बोल्दै तत्कालको लागि संरक्षण विधामा योजना नभएपनि चौमासिकमा संशोधन गरेर निरन्तरता दिइने शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणीराम गेलालले पटक पटक भन्दै आएको र बिभिन्न अधुरा रहेका पार्क तथा बाटोलाई संसोधन गरी निरन्तरता दिइने बताए ।
श्री एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा तत्कालीन वन तथा भू–सरक्षण राज्यमन्त्री गोपाल राईसहित २४ जनाको निधन भएको थियो । दुर्घटनामा भूगोलविद् डा. हर्क गुरुङ, मन्त्री राईकी श्रीमती मीना राई, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू–संरक्षण मन्त्रालयका सचिव डा. दामोदारप्रसाद पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल, विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा. चन्द्रप्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङ्मा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य संघका सदस्य विजयकुमार श्रेष्ठलगायत संरक्षण क्षेत्रका दिग्गज स्वदेशी तथा विदेशी संरक्षणकर्मीको निधन भएको थियो ।
विश्वमै पहिलो पटक वन जंगलको संरक्षण तथा व्यवस्थापनको जिम्मा स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्कने क्रममा घुन्साको फलेस्थित घुन्चे पहाडमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको थियो । घुन्सा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका स्वदेशी तथा विदेशी २४ जनाको अर्धकदको शालिक काठमाडौको रामकोटमा स्थापना गरिएको छ । शहिद पार्क नामांकन गरिएको उक्त पार्कभित्र राजारानी ताल, राधाकृष्ण मन्दिर, सुमिङपुललगायका अन्य संरचनाहरुको निर्माण कार्य भइरहेको संस्थाका अध्यक्ष पाण्डेले जानकारी गराए ।

प्रतिक्रिया